रौतहट,१७ कात्तिक । फतुवा विजयपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख अम्बेया खातुनले आवश्यक कानुनी प्रक्रिया पूरा नभएका योजनाको भुक्तानी रोक्ने अडान लिनुभएको छ। नगरपालिकामा टावरलाइट र भेपरलाइट जडान कार्यको भुक्तानीबारे विवाद उठेपछि खातुनले “प्रक्रिया पूरा नभएसम्म कुनै पनि भुक्तानी नगरिने” स्पष्ट पार्नुभएको हो।
उनका अनुसार एउटै प्रकृतिका कामलाई टुक्र्याएर खरिद गरिएको र ई–बिडिङ नगरी सम्झौता भएकाले भुक्तानी रोकिनु स्वाभाविक हो।
नगरपालिकाले २०८१ साल फागुन १३ गते रिन्युअल इनर्जी प्रमोशन प्रा.लि., काठमाडौंसँग सन्तपुर कब्रिस्थानमा टावरलाइट जडानका लागि रु ९ लाख ९१ हजार ४५७.४८ मा सम्झौता गरेको थियो। यस्तै, भेपरलाइट जडानका लागि २०८२ जेठ १८ गते प्रेस्था ट्रेडर्स एण्ड सप्लायर्ससँग रु १९ लाख ९५ हजार ८२५.१० को सम्झौता भएको थियो।

प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवका अनुसार टावरलाइट जडानका लागि पेश्की दिइए पनि कम्पनीले नगरपालिकासँग समन्वय नगरी काम गरेको र सामानको गुणस्तर परीक्षण, जिन्सी दाखिला लगायतका प्रक्रिया पूरा नगरेकाले भुक्तानी रोकिएको हो।
तर सप्लायर्सका प्रतिनिधि ललितेश्वर श्रीवास्तवले भने आफूले पालिकालाई “३० प्रतिशत कमिसन नदिएको कारण” भुक्तानी रोकिएको आरोप लगाएका छन्। उनको आरोपको खण्डन गर्दै लेखा अधिकृत कामेश्वर सहनीले भने, “विद्यमान कानुन र वित्तीय प्रक्रिया बाहिर गएर कुनै भुक्तानी सम्भव छैन।”
सहनीका अनुसार जेनजी आन्दोलनको क्रममा नगरपालिकाको अधिकांश श्रेस्ता जलेका कारण आवश्यक कागजात अपूर्ण छन्, जसले गर्दा भुक्तानी प्रक्रिया अघि बढाउन नसकिएको हो।




