रौतहट,१७ कातिक । तलब नपाएको पीडामा रहेका दैनिक ज्यालादारी कर्मचारीले रौतहटको कटहरिया नगरपालिकामा तालाबन्दी गरेपछि पाँच दिनदेखि स्थानीय सेवा पूर्ण रूपमा प्रभावित बनेको छ। नगरपालिका कार्यालयदेखि वडा कार्यालयसम्म तालाबन्दी हुँदा सर्वसाधारण आवश्यक सेवा लिन नपाएर अन्योलमा छन्।
झन्डै १७० ज्यालादारी कर्मचारीले ३ वर्षदेखि तलब नपाएको भन्दै कात्तिक १२ गतेदेखि नगरपालिका कार्यालयसहित सबै १० वटै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। तलब र भत्तासम्बन्धी विषय पटक–पटक उठाउँदा पनि समाधान नभएपछि उनीहरू आन्दोलनमा उत्रिएको कर्मचारीहरू बताउँछन्।
प्रमुख प्रशासकीय अधिकृत गणेश नेपालीका अनुसार आफूले तलब निकासाको प्रक्रिया अघि बढाए पनि केही कर्मचारीका कागजी प्रक्रिया नपुगेको र प्राविधिक समस्या देखिँदै गएपछि काम अघि बढ्न नसकेको हो। समस्या थप जटिल बन्दै गएपछि उनले लामो बिदा लिएर जिल्ला नै छाडेको स्वीकार गर्दै, केही दिनदेखि काठमाडौंमा बसेको बताए।
तालाबन्दीका कारण पालिकाका सबै काम रोकिएपछि सेवाग्राही मर्कामा परेका छन्। “तलब दिएर मात्र हामी कार्यालय खोल्छौं,” आन्दोलनरत एक कर्मचारीले भने, “कहिले नगरप्रमुखले झुलाउने, कहिले प्रशासकीय अधिकृतले। अब हामी छलफलमा होइन, प्रत्यक्ष निर्णयमा मात्र रुचि राख्छौं।”
नगर प्रमुख अजय प्रकाश जयसवालले कर्मचारीको माग न्यायोचित रहेको स्वीकार गर्दै समस्याको समाधानका लागि पहल भइरहेको बताए। “ज्यालादारी कर्मचारीले तलब पाउनैपर्छ भन्नेमा म पनि स्पष्ट छु,” उनले भने, “अहिले अधिकृत नै कार्यालय छाडेर हिँडेका कारण समस्या झनै जटिल भयो। म स्वयं पहल गरेर ताला खुलाउने प्रयासमा छु।”
समाधान कहिले हुने भन्ने अनिश्चित रहँदा कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासी सबै पक्षमा असन्तुष्टि बढ्दो छ।





