चितवन,१७ कातिक । राति–बिरात सडकमा गोली चलेको जस्तो आवाज निकाल्दै धड्डड् मोटरसाइकल कुदाउने ट्रेन्ड रोक्न चितवन प्रहरीले विशेष अभियान थालेको छ। साइलेन्सरमा हेरफेर गरी चर्को आवाज निकाल्ने मोटरसाइकल समात्न प्रहरीले ‘एम्बुसिङ एन्ड ट्र्यापिङ’ नामको अपरेशन सञ्चालन गरिरहेको छ।
धेरैजसो युवाले साइलेन्सरमा परिवर्तन गरी, कप वा गिलास जडान गरेर आवाज बढाउने प्रवृत्ति बढेपछि स्थानीयबाट गुनासो तीव्र भएको थियो। यही समस्यालाई ध्यानमा राख्दै तिहारपछि कात्तिक ७ गतेदेखि अभियान सुरू गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।
कारबाही थालिएको एक सातामा मात्रै ४० थानभन्दा बढी बिगाडिएको स्वरूपका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लियो। उनले बताएअनुसार, काम गराइदिने वर्कसप र ग्यारेजहरू पनि निगरानीमा छन्। “केहीले आफैँले बिगारेका रहेछन्, केहिले वर्कसपमै गएर आवाज बढाउने सेटिङ गराएका रहेछन्,” खनालले भने।
नियन्त्रणमा परेका मोटरसाइकल फिर्ता लिन स्थानीय guardian (अभिभावक) अनिवार्य साथमा आउनुपर्छ। प्रहरीका अनुसार, बिगारिएको स्वरूप पूर्ववत् बनाउनुका साथै १४ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ। साथै, अभिभावक र मोटरसाइकलधनी दुवैले’अब दोहोर्याउँदैनौं’ भन्ने लिखित प्रतिवद्धतासहित मोटरसाइकल बुझाइन्छ।
तर समातिएका मध्ये केवल चारवटा मोटरसाइकल मात्र अहिले फिर्ता लिइएको प्रहरीले जनाएको छ।केही चालकले आफ्नो मोटरसाइकल ठूलो क्षमताको भएकै कारण आवाज बढी आउने दाबी गर्छन्। यससम्बन्धी विवाद समाधान गर्न प्रहरी टोलीसँग प्राविधिक विशेषज्ञ पनि खटाइएको एसपी गोविन्द पुरीले बताए।
“कम्पनीकै आवाज हो कि साइलेन्सर परिवर्तन गरेर आवाज बढाइएको हो—थाहा पाउन हामीसँग प्राविधिक राखेका छौँ,” एसपी पुरीले भने। जिल्लाका सबै ७५ प्रहरी युनिटलाई यस्ता मोटरसाइकल रोक्न निर्देश दिइएको छ।



