काठमाडौँ,१८ कार्तिक । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या १२५ पुगेको छ । यस्तै, दल दर्ताका लागि आएका थप १७ निवेदन आयोगमा विचाराधीन रहेका छन् ।
निर्वाचन घोषणा भएसँगै नयाँ दल गठन र पुराना दल विभाजनका गतिविधि तीव्र बन्दै गएको आयोगले जनाएको छ । गत सातादेखि मात्रै तीन नयाँ दल आयोगमा दर्ता भएका छन् — धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेर बनेको राष्ट्रिय जनमुक्ति पार्टी, र जनमत पार्टीबाट अलग भएको जनस्वराज पार्टी।
आयोगका अनुसार, जेन–जी आन्दोलनयता आएका १० दल दर्ता निवेदनमध्ये राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रमाणपत्र पाइसकेको छ भने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दर्ताका लागि दिएको नेपाल नागरिक पार्टीको निवेदन आफैं स्थगन गर्न माग गरेपछि प्रक्रिया रोकिएको छ । बाँकी आठ निवेदनमाथि आयोगले अध्ययन र कागजात संकलनको कार्य अघि बढाइरहेको छ ।
आयोगको राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञ भट्टराईका अनुसार हाल दर्ता प्रक्रियामा रहेका दलहरूमा नेत्रविक्रम चन्द ‘विप्लव’’ को नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी नेपाल, बुद्ध एयरका मालिक वीरेन्द्र बस्नेतको पहलमा दिनेशराज प्रसाईं अध्यक्ष रहने गतिशील लोकतान्त्रिक पार्टी, र गोपीलाल न्यौपानेको नेतृत्वमा नेपाल लिभर पार्टी छन् ।
त्यस्तै, अजयकुमार राईले राष्ट्रिय परिवर्तन पार्टी, हीराप्रसाद सेतीले राष्ट्रिय जेन–जी पार्टी, र रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता प्रक्रियामा अघि बढाएका छन् । चौधरीले यसअघिको नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण नयाँ दल दर्ताको बाटो समातेका हुन् ।
साथै, जनमोर्चाका पूर्वनेता तथा पूर्वराजदूत नवराज सुवेदीले नवयुग पार्टी दर्ताका लागि निवेदन दिएका छन् भने ज्ञानबहादुर तामाङले साउन महिनामै उज्यालो नेपाल पार्टी दर्ताको प्रस्ताव पेश गरेका थिए ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताका निवेदनमाथि द्रुतगतिमा काम भइरहेको छ । “एउटा दलले प्रमाणपत्र पाइसकेको छ, बाँकीका कागजात अध्ययन र आवश्यक विवरण माग्ने प्रक्रिया भइरहेको छ,” उनले भने, “अब समय कम छ, आगामी निर्वाचनमा सहभागी हुन चाहनेले छिट्टै प्रमाणपत्र लिनुपर्ने हुन्छ।”
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता कार्यतालिका प्रकाशित गरिसकेको छ । उक्त कार्यतालिकाअनुसार दल दर्ता मंसिर १ देखि १० गतेसम्म गर्नुपर्नेछ भने कात्तिक ३० भित्रै दर्ता प्रमाणपत्र प्राप्त गर्नुपर्ने आयोगले जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा नयाँ दलहरूको सक्रियता बढेको आयोगले जनाएको छ । आयोगका अधिकारीहरूका अनुसार “राजनीतिक असन्तुष्टि र वैकल्पिक शक्ति निर्माणको आकांक्षाले नयाँ दलहरूका दर्ता दर तीव्र” बनेको छ ।
विश्लेषकहरूका अनुसार, “नयाँ पुस्ताका राजनीतिक नेताहरूले दल दर्ता गरेर वैकल्पिक राजनीति खोज्ने प्रवृत्ति बढ्दै गएको छ । यसले आगामी निर्वाचनमा राजनीतिक प्रतिस्पर्धाको दायरा फराकिलो बनाउन सक्छ।”



