रौतहट,१८ कातिक । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीले साउनदेखि कात्तिक १५ गतेसम्मको तीन महिनामा करिब २६ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। यस अवधिमा अवैध तस्करीमा संलग्न ३० जनालाई पनि पक्राउ गरिएको छ।
मधेस प्रदेशको नम्बर २ छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकालको नेतृत्वमा विभिन्न गणहरूले सञ्चालन गरेको कारबाहीमा कुल २५ करोड ८७ लाख ९५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरिएको छ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सास्थित गणहरूले पृथक्–पृथक् कारबाहीमा ठूलो परिमाणमा तस्करीका सामान बरामद गरेका छन्। पर्सास्थित सशस्त्र प्रहरी नं.१३ गणले मात्र ९ करोड ९८ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ भने रौतहटस्थित नं.११ गणले २ करोड ९४ हजार ७६८ रुपैयाँ बराबरको सामान बरामद गरेको एसपी रामहरी अधिकारीले जानकारी दिएका छन्।

मानव बेचबिखनविरुद्धको अभियानमा २१ महिलालाई उद्धार गरिएको छ र १९ पुरुष पक्राउ परेका छन्। एक थान अवैध भरुवा बन्दुक पनि बरामद गरिएको छ।
लागुऔषध नियन्त्रणमा २८ क्विन्टलभन्दा बढी गाँजा, ३० किलो चरेस, ब्राउनसुगर र अन्य प्रतिबन्धित औषधिसहित १७ जना पक्राउ परेका छन्। साथै, श्रोत नखुलेको ५२ लाखभन्दा बढी नेपाली र ७ लाख भारतीय रुपैयाँ पनि बरामद गरिएको छ।




