जनकपुर,१८ कातिक । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दमन र कुटपिटको विरोधमा जनकपुरधामका व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म आफ्नो व्यवसाय बन्द गरेका थिए। संघको अगुवाइमा व्यापारीहरूले नगरभित्र विरोध र्याली समेत निकालेका थिए।
यसअघि पहिलो चरणको आन्दोलनमा व्यापारीहरूले तीन दिनसम्म व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर विरोध जनाएका थिए।
धनतेरसअगाडि प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सुनचाँदी बजारमा छापा मारेको थियो। सो क्रममा एक पसलबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले प्रहरीमाथि चाँदी लुटेको आरोप लगाएका थिए।
प्रहरी र व्यापारीबीच विवाद बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो, जसमा उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी घाइते भएका थिए। व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन जारी राखेका छन्।




