spot_img

बारा: निर्वाचन नजिकिँदै, मतदाता नामावली दर्ता केन्द्रमा भीड

spot_img
spot_img

बारा,१८ कातिक । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भएपछि बारामा मतदाता नामावली दर्ता केन्द्रमा भीड बढ्न थालेको छ। जिल्ला निर्वाचन कार्यालयमा नयाँ मतदाता नामावली दर्ता र नयाँ राजनीतिक दलहरूको सनाखतका लागि जनसमूह देखिन थालेको हो।

अध्यादेशमार्फत असोज १० गतेदेखि सुरु गरिएको मतदाता नामावली सङ्कलनले विशेषगरी जेनजी पुस्तालाई लक्षित गरेको छ। सूचना अधिकारी मुकेश कुमार सिंहका अनुसार असोज १० देखि कात्तिक १७ गतेसम्म बारामा ३,३०० जनाले नाम दर्ता गरेका छन्। उनका अनुसार, जेनजी आन्दोलनपछि युवाहरू मतदाता नाम दर्तातर्फ निकै उत्साहित देखिएका छन्।

१८ वर्ष पुगेर नेपाली नागरिकता प्राप्त गरेका नागरिकले नामावलीमा नाम दर्ता गराउन सक्ने व्यवस्था छ। विदेश, रोजगारी वा अध्ययनका कारण नाम दर्ता गर्न नपाएकाले कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन पाउनेछन्।
सिंहका अनुसार, पहिलेदेखि नाम दर्ता भई मतदाता परिचयपत्र हराएको अवस्थामा नागरिकता वा सरकारी कार्यालयबाट जारी अन्य परिचय पुष्टि दस्तावेजका आधारमा मतदान गर्न सकिनेछ।

२०७८ को निर्वाचनमा पनि परिचयपत्र नभएकाहरूले जग्गाधनी प्रमाण–पुर्जा समेत पेश गरेर मतदान गरेको उदाहरण छ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीका अनुसार आयोगको निर्देशनअनुसार नयाँ दलहरूको सनाखत, नामावली अद्यावधिक र आगामी निर्वाचनका तयारी तीव्र रूपमा भइरहेको छ। असोज ३० गते गतिशील लोकतान्त्रिक पार्टी दर्ता भएपछि जिल्लामा सो पार्टीको सनाखत जारी रहेको उनले बताए।

“निर्वाचन सामाग्री व्यवस्थापनदेखि लिएर नयाँ दल दर्ता सनाखत र नामावली सङ्कलनका कामहरू तदारुकतासाथ भइरहेको छ,” प्रमुख चौधरीले भने, “सुरक्षा व्यवस्थाबारे छलफल भने अहिले सुरु भइसकेको छैन। अध्यादेशपछि जेनजी युवाहरूको नाम दर्ता गर्न भीड अत्यधिक छ।”

बारामा २०८२ असार मसान्तसम्म ४ लाख ४० हजार ५१५ जना मतदाता दर्ता भइसकेका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय