बीरगन्ज,१८ कातिक । माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) सहित आठ वाम दलसँग पार्टी एकता गर्ने तयारी अघि बढाएसँगै आन्तरिक असन्तोष तीव्र हुँदै गएको छ। यिनै बीच, मधेस प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रहबर अन्सारीले एकताप्रति कडा आपत्ति जनाउँदै पार्टी नेतृत्वलाई आत्म–शुद्धि बिना एकता “नैतिकता विरुद्धको सौदा” हुने चेतावनी दिएका छन्।
अन्सारीले सामाजिक सञ्जालमार्फत लेख्दै, वर्तमान पार्टी संरचनामा “भ्रष्ट, चरित्रहीन र दण्डहीन संस्कृतिले ठाउँ पाएको” आरोप लगाए। उनका शब्दमा, “फोहोर भाँडो रंग लगाएर चम्किँदैन। चरित्रको क्रान्ति बिना गरिने एकता आन्दोलनको आदर्श बेच्ने काम हुन्छ।”
उनका अनुसार, एकताको नाममा पार्टीभित्र रहेका “दुराचार, भ्रष्टाचार र अवैधानिक व्यवहार छोपेर उत्सव मनाउने” प्रवृत्तिले माओवादी आन्दोलनको मूल मूल्य र आदर्शमाथि चोट पहुँचाउने जोखिम छ।
एकता अघि बढे पनि नेताहरूमा खुला विभाजन कात्तिक १९ मा काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा गर्ने तयारी भइरहेका बेला माओवादी केन्द्रभित्र तीव्र विरोध छ। कात्तिक १६ मा महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा जनार्दन शर्माले लिखित रूपमा एकता प्रस्ताव अस्वीकार गर्दै “यो वैचारिक आत्मसमर्पण” भएको बताएका थिए। बैठक बहिष्कार गरेका शर्मालाई अध्यक्ष प्रचण्डले “अराजक र अलोकतान्त्रिक” टिप्पणी गरेका छन्।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि “हतारोमा होइन, गम्भीर वैचारिक रूपान्तरणपछि मात्र एकता सम्भव” भन्दै प्रक्रिया स्थगित गर्न सुझाव दिएका छन्।
एकीकृत समाजवादीभित्र पनि विरोध समानै माओवादीसँग हुने एकतालाई एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले “एमाले फुटाएर बनेको पार्टीलाई विलय गर्ने षड्यन्त्र” भन्दै आलोचना गरेका छन्। झलनाथ खनाल, रामकुमारी झाँक्री, घनश्याम भुसाल, किसान श्रेष्ठ सहित दर्जनौँ नेताहरू एकताविरुद्ध उभिएका छन्। यसबारे केही नेताहरूले “पुनर्गठन” विकल्प खोजिरहेका छन् भने केही एमालेमा फर्किने तयारीमा रहेको बताइन्छ।
विश्लेषकहरूका अनुसार, एकताले वाम राजनीति एक ठाउँमा केन्द्रित गर्ने सम्भावना जति छ, असन्तुष्ट समूहहरूले नयाँ विभाजन र पुनर्गठनतर्फ लैजाने सम्भावना पनि उति नै बलियो छ। एकताको मिति नजिकिँदै जाँदै गर्दा तीव्र विरोधका स्वरहरूले प्रक्रिया जटिल बन्दै गएको देखिन्छ।




