spot_img

सरकारले यातायात र भान्छा विद्युतीकरणमा गम्भीर पहल थालेको मन्त्री घिसिङको भनाइ

spot_img
spot_img

काठमाडौँ, १८ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सरकार यातायात र भान्छालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने दिशामा गम्भीर रहेको बताएका छन्।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भान्सामा हाल प्रयोग हुने ग्यासलाई विस्थापित गर्दै इन्डक्सन वा अन्य वैकल्पिक ऊर्जा प्रवर्धनका लागि अझै धेरै काम बाँकी रहेको बताए। उनले चार्जिङ स्टेशनको पहुँच बढाउन नीति परिमार्जन भइरहेको र सोलार प्रविधिलाई सिँचाइ क्षेत्रसँग जोडेर प्रभावकारी बनाउने कार्ययोजना अघि बढाइरहेको जानकारी दिए।

मन्त्री घिसिङले हावाबाट बिजुली उत्पादन प्रविधिको विकासमा निजी क्षेत्रलाई सहभागी हुन आह्वान गर्दै भने, “विन पावरमा कोही चाहना राख्छ भने सरकारले सहयोग गर्छ।” उनले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले विकट क्षेत्र र विपन्न परिवारका लागि ठुलो योगदान गरेको भन्दै अझ प्रभावकारी काम गर्नुपर्ने पनि औँल्याए।

कार्यक्रममा ऊर्जा सचिव चिरञ्जीवी चटौतले केन्द्रले जलवायु परिवर्तन घटाउन, ऊर्जा दक्षता बढाउन र कार्बन उत्सर्जन कम गर्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गराए। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सौर्य ऊर्जा, सिँचाइ, खानेपानी र सुधारिएको चुलो जस्ता परियोजनामा काम भइरहेको र आठ वटा कार्बन कटौती आयोजनाबाट ३६ मिलियन अमेरिकी डलर आम्दानी भएको जानकारी दिए। उनले आउँदो पाँच वर्षमा १० लाख घरधुरीसम्म पहुँच पुर्‍याउने लक्ष्य राखिएको र यसले ४० हजार रोजगारी सिर्जना गरेको बताए।

सोही अवसरमा मन्त्री घिसिङले सौर्य तापीय मार्गचित्र र कार्यान्वयन योजना विमोचन गरे। वार्षिकोत्सवमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय