spot_img

पर्साका पाँच स्थानमा मेला सुरु — तास, जुवा र मदिरा नियन्त्रणमा कडा निगरानी

spot_img
spot_img

पर्सा, १८ कात्तिक — पर्सा जिल्लाका पाँच स्थानमा धार्मिक, सांस्कृतिक र परम्परागत श्रद्धाको प्रतीक  मेला आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भोलि बुधबार (कात्तिक १९ गते) बलिदान पूजा गरी मेला सम्पन्न हुने जनाइएको छ।

मेला पटेर्वा सुगौली गाउँपालिकाको गादीमाई, ठोरी गाउँपालिकाको बागमोर्चामाई, जिराभवनी गाउँपालिकाको सुगिभारमाई, पर्सागढी नगरपालिकाको कोईलाभार र आमोदेवी मन्दिर गरी पाँच स्थानमा धुमधामका साथ आरम्भ भएको हो।

श्रद्धालुहरूले माताको मन्दिरमा पूजा–अर्चना, भाकल तर्ने, बलिदान दिने र आशीर्वाद लिने परम्परा पालना गर्दै आएका छन्। मेलामा भजन–कीर्तन, नाचगान, झुलुवा, खेल–तमासा, पार्चुन, खाद्यान्न, कपडा र स्थानीय उत्पादनका स्टलहरू पनि राखिएका छन्, जसले स्थानीय व्यापार र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तर, गत वर्षहरूमा मेलाको अवसरमा तास–जुवा, कौडी, झन्डा–मुन्डा, लङ्गडा–गुचा खेल र लोकल मदिरा बिक्री वितरण जस्ता अवैध गतिविधिहरू सञ्चालन हुँदै आएका थिए, जसले सामाजिक समस्या र पारिवारिक विवाद निम्त्याउने गरेको स्थानीयले बताएका छन्।

यस वर्ष यस्ता क्रियाकलाप नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना लागू गरेको छ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता हरि बहादुर बस्नेतका अनुसार,

तास तथा कुनै पनि किसिमको जुवा हुन नदिईने व्यवस्था मिलाइएको छ। मेलामा शान्ति सुरक्षा कायम राख्न पर्याप्त संख्यामा प्रहरी तैनाथ गरिएको छ। मदिरा सेवन गरेर सवारी साधन नचलाउन सबैलाई सुझाव दिइएको छ।”

सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र मेला व्यवस्थापन समितिका स्वयंसेवकहरू सक्रिय छन्। साथै, हुलदंगा, झगडा वा अन्य अवाञ्छित गतिविधि भए तुरुन्तै कारबाही हुने प्रहरीले जनाएको छ।

पटेर्वा सुगौली वडा नं. १ गादी मेला समितिका उपाध्यक्ष लालबहादुर प्रसाद यादव भन्छन्,

“मेलाको धार्मिक र सांस्कृतिक मर्यादा जोगाउन सुरक्षासँग सहकार्य गर्दै सबै तयारी पूरा गरिएको छ।”

त्यस्तै, स्थानीय बासिन्दा हरी यादव ले भने,

“गादीमाई मेलाको वास्तविक पहिचान पूजा, श्रद्धा र संस्कृतिमा हो — तास र मदिरामा होइन।”

स्थानीयहरूले मेलामा खरको छाप्रो र पाल तानेर तास खेल्ने र मदिरा बिक्री गर्ने कार्य रोक्न प्रहरीलाई फोनमार्फत ध्यानाकर्षण समेत गराएका छन्। उनीहरूका अनुसार, नशा र जुवाका कारण कतिपय परिवार उजाड भएका छन्, त्यसैले मेलामा प्रहरीको कडा निगरानी निरन्तर रहोस् भन्ने माग गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय