वीरगञ्ज, १८ कात्तिक — सामुदायिक संस्था ‘सानो पाइला’ द्वारा सञ्चालित सामुदायिक पुनर्स्थापना केन्द्रमा अब उपचारसँगै डिजिटल सीप र जीवनोपयोगी शिक्षा प्रदान गरिने भएको छ। यसका लागि केन्द्रमा ‘डन ग्रयाग डिजिटल एन्ड लाइफ स्किल ल्याब’ स्थापना गरिएको छ।
मङ्गलवार वीरगञ्ज–परवानीपुरस्थित पुनर्स्थापना केन्द्र परिसरमा एक विशेष समारोहका बीच ल्याबको उद्घाटन गरियो। उक्त ल्याबमा इन्टरनेटसहितका कम्प्युटर, विभिन्न विषयका पुस्तकहरूसहितको पुस्तकालय र व्यावहारिक अध्ययनका लागि आवश्यक सामग्रीहरू राखिएका छन्।
केन्द्रका प्रमुख भाजू राउत कुर्मी का अनुसार, उपचारका लागि आउने विद्यार्थीहरूलाई अब उपचारसँगै कम्प्युटर सीप, डिजिटल ज्ञान र जीवनोपयोगी शिक्षाको समेत तालिम दिइनेछ।
“समुदायमा पुनर्स्थापनाका लागि आवश्यक सीप र आत्मनिर्भरता विकास नै हाम्रो लक्ष्य हो,” उनले भने।
कार्यक्रममा सानो पाइलाका संस्थापक तथा युवा नेता कञ्चन झाले ल्याब स्थापनाका लागि सहयोग गरेका डन ग्रयाग प्रति आभार व्यक्त गर्दै भने,
“डनको सहयोगले सानो पाइलाका गतिविधिलाई सशक्त बनाउन ठूलो योगदान पुर्याएको छ। यो ल्याबले विद्यार्थीहरूमा आत्मविश्वास र सीप विकासमा उल्लेख्य भूमिका खेल्नेछ।”
यसैबीच, वीरगञ्ज–२१ का पूर्व वडाध्यक्ष हबिब मियाँ ले पुनर्स्थापना केन्द्रले लागूऔषध दुर्व्यसन नियन्त्रणमा उत्कृष्ट काम गरिरहेको उल्लेख गर्दै केन्द्रका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले खेलकुदका गतिविधि विस्तारका लागि आर्थिक सहयोग पनि प्रदान गरे।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम ले सानो पाइलाको पहललाई “सामाजिक रूपान्तरणतर्फको सकारात्मक कदम” भन्दै प्रशंसा गरे। उनका अनुसार, ल्याबमा रहेको पुस्तकालयले विद्यार्थीहरूमा पठन संस्कृति र आत्मविकासमा टेवा पुर्याउनेछ।
त्यस्तै, बेलायतमा चिकित्सकीय सेवा दिइरहेकी सानो पाइलाकी संस्थापक सदस्य डा. निशा झाले संस्थाको सामाजिक कार्यप्रति गर्व व्यक्त गर्दै ल्याबको थप विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन्।
कार्यक्रममा संस्थाका अध्यक्ष दिपक बहादुर श्रेष्ठको अध्यक्षतामा संस्थाकी संस्थापक सदस्य सुष्मा गौतम, मानवसेवा आश्रम मधेस प्रदेशका देवेश मानवसेवा, सामाजिक अभियन्ता रामक्षेत्री कोइरी, अभियन्ता ध्रुव साह, रमिता कुशवाहा लगायतको उपस्थिति थियो।
सोही अवसरमा पुनर्स्थापना केन्द्रले लागूऔषध दुर्व्यसनविरुद्ध परामर्शका लागि टोल–फ्रि नम्बर १६६०–५१–५२००३ सार्वजनिक गरेको छ, जसमार्फत इच्छुकले निःशुल्क परामर्श सेवा लिन सक्नेछन्।
१७ वर्षको सेवा यात्रामा केन्द्रले ४ हजार ५ सयभन्दा बढी व्यक्तिहरूलाई पुनर्स्थापना गर्न सफल भएको जानकारी दिँदै संस्थाले समुदायलाई ल्याबको पुस्तकालयका लागि पुस्तक सहयोग गर्न आह्वान गरेको छ।



