बीरगन्ज,१९ कातिक । देशको प्रमुख व्यापारिक प्रवेशद्वार बीरगन्ज नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) को आयात उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै यस नाकाबाट ६८ करोड ५ लाख रुपैयाँ मूल्य बराबरका दुई सय २९ वटा विद्युतीय जिप, कार र भ्यान नेपाल भित्रिएका छन्।
बीरगन्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधनको आयातबाट ४५ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने १४ करोड ४९ लाख रुपैयाँ मूल्यका ९७ वटा मात्र ईभी भित्रिएका थिए, जसबाट नौ करोड ११ लाख रुपैयाँ राजस्व उठेको थियो।
बीरगन्ज नाका भारत र तेस्रो मुलुकबाट सवारीसाधन आयात हुने प्रमुख प्रवेशद्वारका रूपमा परिचित छ। पछिल्लो समय इन्धनबाट चल्ने सवारीसँगै ईभीको माग तीव्र गतिमा बढेपछि यो नाकाबाट विद्युतीय सवारीको आयातमा पनि उल्लेख्य वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकृत अमित तिवारीका अनुसार पछिल्ला महिनाहरूमा चीनको ओपल (Opal) र अमेरिकाको टेस्ला (Tesla) ब्रान्डका सवारीहरूको माग बढेकाले आयातमा वृद्धि भएको हो।उनले भने, “यी दुई ब्रान्डका ईभी अहिले नेपाली बजारमा अत्यधिक लोकप्रिय छन्, र यी दुवै ब्रान्ड वीरगन्ज नाकाबाट मात्रै भित्रिने भएकाले यो नाकाको आयात आँकडा उल्लेखनीय रूपमा बढेको हो।”
बीरगन्ज भन्सार अन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाह ईभी आयातको मुख्य केन्द्र बनेको छ। तर, त्यहाँ अझैसम्म चार्जिङ स्टेसन नहुँदा सवारी आयातकर्ताहरूले कठिनाइ भोगिरहेका छन्।
इन्टर मोडल यातायात विकास समितिले बन्दरगाह परिसरमा अन्य पूर्वाधार विस्तारसँगै चार्जिङ स्टेसन निर्माणको काम अघि बढाइरहेको समितिका वीरगन्ज कार्यालय प्रमुख कमल ज्ञवालीले जानकारी दिए। उनका अनुसार हाल चार्जिङ स्टेसन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ।




