काठमाडौँ,१९ कार्तिक । लामो समयदेखि चलिरहेको वाम एकता प्रयास आज ठोस नतिजामा पुग्दैछ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ दल र समूहबीच आज औपचारिक रूपमा एकता घोषणा हुँदैछ।
माओवादी केन्द्रको नेतृत्वमा अघि बढाइएको एकता प्रक्रियालाई मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो। त्यसपछि आज बिहान ११ बजे संयुक्त राष्ट्रिय सम्मेलनमार्फत नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकप) नामक संगठनको घोषणा गर्न लागिएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन्।
उनका अनुसार नयाँ पार्टीले ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ लाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्नेछ। साथै, देशको राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाउँदै जनताको आकांक्षाअनुसार नीति तथा कार्यक्रम अघि सारिने तयारी गरिएको छ।
एकीकृत हुने दलहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, तथा पूर्व माओवादी नेता गोपाल किराँती नेतृत्वको समूह पनि सहभागी छन्।
प्रवक्ता सापकोटाका अनुसार, “सबै घटकबीच पार्टीको नाम, नीति र नेतृत्व संयोजनमा पूर्ण सहमति भइसकेको छ। यो एकता वाम शक्तिको स्थायित्व र विकल्प निर्माणतर्फको ठोस कदम हुनेछ।”
आज हुने सम्मेलनमा सहभागी सबै नौ दलका शीर्ष नेता, केन्द्रीय पदाधिकारी र कार्यकर्ताहरूको उपस्थिति रहने बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकता नेपाली वाम राजनीतिमा पुनः एक केन्द्र निर्माण गर्ने सम्भावनासहितको ऐतिहासिक मोड हो, जसले देशको आगामी राजनीतिक समीकरणमा नयाँ दिशा देखाउन सक्छ।



