spot_img

बालबालिकाको स्वास्थ्यसँग खेलबाड : चन्द्रपुरमा म्याद सकिएको खोप फेला

spot_img
spot_img

रौतहट,१९ कार्तिक । रौतहटको चन्द्रपुर नगरपालिकामा बालबालिकालाई म्याद गुज्रिएको जापानी इन्सेफ्लाइटिस (JE) भ्याक्सिन वितरण गरिएको खुलासा भएपछि नियमित खोप अभियान तत्काल रोकिएको छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा देखिएको लापरबाहीपछि अभिभावक र स्थानीय समाज आक्रोशित बनेका छन्।

मंगलबार वडा नं. ९ मा सञ्चालन भइरहेको नियमित खोप अभियानका क्रममा खोपको म्याद सकिएको पत्ता लागेपछि कार्यक्रम तुरुन्तै स्थगित गरिएको नगरपालिकाले जनाएको छ। वडाध्यक्ष नवराज देवकोटाका अनुसार खोप लगाउने तयारी भइरहेकै बेला भ्याक्सिनको म्याद गुज्रिएको फेला परेको हो। उनले भने, “यो अत्यन्त संवेदनशील विषय हो, बालबालिकाको स्वास्थ्यसँग खेलबाड गर्न सकिँदैन। हामीले तत्काल अभियान रोकेर सम्बन्धित निकायलाई जानकारी गराएका छौं।”

चन्द्रपुर नगरपालिकामा प्रत्येक महिनाको १८ देखि २२ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रम यसपटक स्थगित गरिएको छ। नगरप्रमुख सञ्जयकुमार काफ्लेले अन्य वडामा पनि म्याद गुज्रिएको भ्याक्सिन पुगेको हुनसक्ने आशंका व्यक्त गर्दै सम्पूर्ण खोप कार्यक्रम रोक्ने निर्देशन दिएका छन्। उनले भने, “बालबालिकाको स्वास्थ्यसँग लापरबाही गर्नेहरूलाई कुनै हालतमा छुट दिइने छैन। दोषीमाथि विभागीय कारबाही सुरु गरिनेछ।”

स्वास्थ्य शाखा प्रमुख राजेशकुमार ठाकुरले आफ्नै कमजोरीका कारण म्याद गुज्रिएको भ्याक्सिन स्वास्थ्यचौकीसम्म पुगेको स्वीकार गरेका छन्। नगरपालिकाले उनलाई अनुशासनात्मक कारबाहीको तयारी गरेको जनाएको छ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डा. अभिनन्दन श्रीवास्तवका अनुसार, स्वास्थ्यकर्मीहरूको असावधानीकै कारण यस्तो समस्या आएको हो। उनका अनुसार अन्य वडाहरूमा पनि सोही ब्याचका भ्याक्सिन पुगेको हुनसक्ने भएकाले सम्पूर्ण खोप केन्द्रमा पुनः जाँच सुरु गरिएको छ।

घटना सार्वजनिक भएपछि वडा नं. ९ को डुमरिया लगायतका स्वास्थ्यचौकीहरूमा खोप अभियान स्थगित गरिएको छ। स्थानीय समाजसेवी तुलसीराज गिरीले यो घटनालाई “बालबालिकाको स्वास्थ्यसँगको ठट्टा” भन्दै दोषीमाथि तुरुन्त कानुनी कारबाहीको माग गरेका छन्।

नगरपालिकाले अब सबै खोप केन्द्रका भ्याक्सिनको म्याद अनिवार्य जाँच गर्न र भविष्यमा यस्ता घटना नदोहोरिन विशेष निगरानी समिति गठन गरेको जनाएको छ।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय