काठमाडौं,१९ कात्तिक । नेपाल नर्सिङ परिषद्ले कात्तिक १६ देखि १८ गतेसम्म सञ्चालन गरेको प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा अत्यन्तै निराशाजनक देखिएको छ ।
परिषद्का अनुसार परीक्षामा ६४५ जनाले फारम भरे पनि ६०२ जना मात्रै सहभागी भएका थिए, जसमध्ये जम्मा १०५ जना अर्थात् १७ दशमलव ४४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । यसले पीसीएल नर्सिङको नतिजामा लगातारको गिरावट देखाउँछ, किनकि गत असारमा लिइएको लाइसेन्स परीक्षामा १९ प्रतिशत उत्तीर्ण भएका थिए । यद्यपि, अन्य तहका नर्सिङ नतिजाहरू भने तुलनात्मक रूपमा राम्रो देखिएको छ । बीएससी नर्सिङतर्फ कुल २१० जनाले परीक्षा दिएकोमा ४५ दशमलव ७१ प्रतिशत अर्थात् ९६ जना उत्तीर्ण भएका छन् ।
यस्तै, विशेषज्ञ नर्सको नाम दर्ता परीक्षामा पनि ५६ दशमलव १८ प्रतिशत ९५० जना उत्तीर्ण भएका छन् । तर, यसपटकको परीक्षामा बीएमएस (ब्याचलर अफ मिडवाइफ्री) तर्फ भने सतप्रतिशत नतिजा आएको छ, जहाँ सहभागी २७ जना परीक्षार्थी सबै उत्तीर्ण भएका छन् ।



