बीरगन्ज,१९ कातिक । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयमै सरुवा गरेको छ। मन्त्रालयले मङ्गलवार विभिन्न महाशाखा तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको जिम्मेवारी फेरबदल गर्दै डा. दासलाई मन्त्रालयस्थित पदमा तानेको हो।
यसै परिवर्तनअन्तर्गत डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको निर्देशकमा नियुक्त गरिएको छ। यो पद डा. विवेक लाल निलम्बनमा परेपछि रिक्त रहेको थियो।
त्यस्तै, डा. राधिका थपलियालाई राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र (NHEICC) को निर्देशक बनाइएको छ। उनी यसअघि कोशी प्रदेशको स्वास्थ्य सचिवका रूपमा कार्यरत थिइन्। उक्त केन्द्रका निर्देशक डा. केशवराज पण्डितलाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
भद्रगोल अवस्थामा रहेको उपचारात्मक सेवा महाशाखामा पनि नयाँ नेतृत्व आएको छ। व्यवस्थापन महाशाखामा रहेका डा. पवनजंग रायमाझीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशक तोकिएको छ। पूर्व निर्देशक डा. सुधा देवकोटा डडेलधुरा अस्पताल निर्देशक बनेर गएपछि उक्त पद चार महिनादेखि रिक्त थियो।




