बीरगन्ज,१९ कातिक । निजी अस्पतालमा कार्यरत पारामेडिकल तथा अन्य स्वास्थ्यकर्मीहरूले लामो समयदेखि भइरहेकाे श्रम शोषण, न्यून तलब–सुविधा र व्यवस्थापनको दमनकारी व्यवहारविरुद्ध वीरगञ्जमा प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले तोकेको मापदण्डअनुसार तलब–भत्ता र श्रम अधिकार कार्यान्वयन गर्न माग गरेका छन्।
नेपाल पारामेडिकल एसोसिएसन बीरगन्ज महानगरको आयोजनामा सीएमए, स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट (HA), रेडियोग्राफर, फार्मासिस्ट, फिजियोथेरापिस्टलगायतका स्वास्थ्यकर्मीहरूले बुधवार नारायणी अस्पतालदेखि घण्टाघरसम्म र्याली निकालेर विरोध जनाए। “श्रम शोषण बन्द गर”, “महँगो अस्पताल, सस्तो स्वास्थ्यकर्मी?”, “सेवा ठूलो, तलब सानो—कहिलेसम्म?” जस्ता नारासहित निकालेको र्याली घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा एसोसिएसनका अध्यक्ष विनय साहले निजी अस्पताल सञ्चालकहरूले ‘माफिया शैली’मा अस्पताल चलाउँदै स्वास्थ्यकर्मीको मेहनतको मूल्य नदिएको आरोप लगाए। “डाक्टर र एम्बुलेन्स चालकलाई कमिसनका नाममा पैसा छुट्याउने, तर स्वास्थ्यकर्मीको तलब बढाउन पैसा छैन भन्छन्,” उनले भने। माग सुनुवाइ नभए भोलिदेखि पेनडाउन गरी कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।
सह–सचिव कलामुदीन अन्सारीले स्वास्थ्य मन्त्रालयका निर्देशनहरूलाई बेवास्ता गर्दै निजी अस्पतालहरूले आफूलाई राज्यभन्दा माथि ठान्ने प्रवृत्ति बढेको आरोप लगाए। “१०–१२ हजारमा परिवार कसरी पाल्ने? महँगीको बजारमा यो त अपमान हो,” उनले भने। उनले सरकारी मापदण्डअनुसार तलब–स्केल लागू गर्न, बैंकिङ प्रणालीमार्फत पारिश्रमिक उपलब्ध गराउन, तथा हप्तामा ४२ घण्टा मात्र काम गराउने व्यवस्था लागू गर्न माग गरे।
स्वास्थ्यकर्मी कृष्ण निरालाले गत वर्ष मंसिरमा मन्त्रालयले सरकारी कर्मचारीसरह तलब–सुविधा दिन जारी गरेको निर्देशन कार्यान्वयन नभएको स्मरण गराए। “स्थानीय प्रशासन र सरोकारवालालाई पटक–पटक गुहार्दा पनि आवाज सुनिएन, अन्ततः सडकमा निस्किन बाध्य भयौँ,” उनले भने।
निरालाले स्वास्थ्यकर्मी र उनीहरूको परिवारका लागि बिमा–सुरक्षा, निःशुल्क उपचार, बिदा–भत्ता र सुविधासहितको सेवा सुनिश्चित गर्नुपर्ने माग राखे। आवश्यक परे निजी अस्पताल बन्द गरिसम्मका कठोर कदम चालिने चेतावनी पनि दिए।
कोणसभापछि स्वास्थ्यकर्मीहरूले आफ्ना माग समेटिएको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएका छन्।



