गण्डकी,१९ कातिक । कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाको आरोपमा प्रहरीले आज सात जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका व्यक्तिहरूमा सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी, र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवा समावेश छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादर बस्नेतका अनुसार, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दिएको छानबिन प्रतिवेदनको आधारमा पक्राउ गरिएको हो।
प्रतिवेदन अनुसार, वित्तीय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययनमा सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ। अध्ययनले संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीको मिलेमतोमा बचत रकमको अपचलन भएको स्पष्ट पारेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।




