काठमाडौं,१९ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई अझै एकीकृत र बलियो बनाएर लैजाने बताएका छन्। एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले विचार, सिद्धान्त मिल्नेसँग एकताको पहल गरिरहने र अन्य राष्ट्रवादी शक्तिसँग पनि मोर्चाबन्दी गरेर जाने बताए।
‘संविधानको रक्षा गर्न चाहनेहरूबीच अझै पनि एकता आवश्यक छ। गणतन्त्र, संघीयताको रक्षा गर्नका लागि सके एकता नसके मोर्चाबन्दी गरेर भए पनि अगाडि बढ्ने छौं,’ उनले भने, ‘गणतन्त्रका पक्षधरलाई हातेमालो गर्दै अगाडि बढ्नका लागि पहल गर्नेछौं।’ उनले विचार, सिद्धान्त, कार्यदिशा, रणनीति, कार्यनीति र कार्यक्रम मिल्नेसँग एकता गर्दै जाने तथा देशभक्त अन्य शक्तिहरूसँग मोर्चा बनाउँदै जाने बताए।
कसैप्रति पूर्वाग्रह नराख्ने, सबैलाई सकारात्मक सोच राखेर एकीकृत गर्दै जाने बताएका नेपालले विदेशी दलाल, विदेशी हितका पक्षधर, गणतन्त्रका विरोधीहरूलाई भने पार्टीमा स्थान नदिइने बताए।




