सुर्खेत,१९ कातिक । दुई वर्षअघि तोकिएको समयसीमा कटिसक्दा पनि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अझै सम्पन्न हुन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक र हाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले २०७८ फागुनमा सुर्खेत आइपुगी २०८० सालको दसैंसम्म आयोजना पूरा गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए। तर, त्यो समय त के, त्यसपछि थप दुईवटा दसैं बिदा भइसक्दा पनि प्रसारण लाइन अझ अधुरै छ।
तीन दशकभन्दा बढी समयदेखि लो–भोल्टेज र अघोषित लोडसेडिङको मारमा परिरहेका सुर्खेतवासीले उक्त प्रतिवद्धतापछि आशाको किरण देखेका थिए। तर अब उनीहरू पुनः अनिश्चिततामा परेका छन्।
जिम्मेवारहरू बद्लिए, काम उस्तै
कुलमान घिसिङको कार्यकालपछि प्राधिकरणको जिम्मेवारी सम्हालेका हितेन्द्रदेव शाक्यले पनि गत असारमा सुर्खेत आइपुग्दा “दसैंभित्र आयोजनाको काम सक्ने” प्रतिवद्धता जनाएका थिए। तर, न त शाक्यकै समयमा काम पूरा भयो, न अहिले ऊर्जा मन्त्री बनेका घिसिङकै कार्यकालमा स्पष्ट प्रगति देखिएको छ।
आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार कुल १६२ टावरमध्ये १५९ टावर निर्माण भइसकेका छन्। बाँकी तीन टावरमध्ये एउटा लगभग पूरा भइसकेको र दुईवटा बानियाभार क्षेत्रमा अधुरो रहेको जानकारी उनले दिएका छन्। बानियाभारको काम लामो समय विवाद र वर्षाका कारण रोकिएको थियो।
त्यस्तै, वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसन नजिकै तारमुनिको जग्गाका धनीसँग मुआब्जा विवाद पनि अझै समाधान भएको छैन। ‘हामीले २० प्रतिशत क्षतिपूर्ति दिने प्रस्ताव गरेका छौं, तर जग्गाधनीहरूले धेरै दरमा मुआब्जा माग्दै आएका छन्,’ चौधरीले बताए।
राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि करिब दुई किलोमिटर तार तान्ने काम बाँकी छ। रुख कटान र कागजी प्रक्रिया लामो हुने भएकाले काममा ढिलाइ भएको चौधरीले बताए।
९५ प्रतिशत काम सकियो, तर समयमै सकिने सम्भावना न्यून
२०७८ भदौमा सुरु गरिएको आयोजनाको सम्झौता २०७७ भदौ ७ गते भएको थियो। दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य थियो। तर, ठेकेदार कम्पनी आरएस इन्फ्रा प्रोजेक्ट्स (भारत) ले एक वर्ष ढिलो काम सुरु गरेको कारण पूरा प्रक्रिया सुस्त भयो। हालसम्म करिब ९५ प्रतिशत काम सकिएको दाबी छ।
एक अर्बभन्दा बढी लागत अनुमान गरिएको आयोजना ७० करोड रुपैयाँमा निर्माणाधीन छ। चौथो पटक म्याद थपिसकेको आयोजना अब पुनः समयसीमा नाघ्ने अवस्थामा पुगेको छ।
काममा ढिलाइका कारण सुर्खेतवासी अहिले पनि दिनमा ८–१० पटक विद्युत् काटिँदा हैरान छन्। लो–भोल्टेजको समस्या समाधान नभएपछि जनतामा असन्तुष्टि बढ्दो छ।मुख्यमन्त्रीको अनुगमन, ‘सबै पक्षले जिम्मेवारी लिनुपर्छ’कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हालै आयोजनाको स्थलगत अनुगमन गर्दै ढिलाइको कारण बुझ्ने प्रयास गरेका छन्। उनले आयोजना “कर्णालीको लाइफलाइन” भएको भन्दै सबैतर्फबाट दवाव र सहयोग बढाउन आग्रह गरेका छन्।
आयोजना प्रमुख चौधरीले अब मंसिर अन्त्यसम्म सबै काम सकिने दाबी गरे पनि हालको गति हेर्दा त्यो सम्भावना अत्यन्त न्यून देखिन्छ। तीन वर्षदेखि अधुरो रहेको प्रसारण लाइन कहिले सुर्खेत पुग्ने हो—कर्णालीका बासिन्दा अझै प्रतीक्षामा छन्।



