काठमाडौं,२० कात्तिक । विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने प्रक्रियामा महत्वपूर्ण प्रगति भएको छ। निर्वाचन आयोगले आवश्यक कानुनी संशोधनका सुझावसहितको विस्तृत राय गृह मन्त्रालयमा पठाएको हो।
आयोगले मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, निर्वाचन आयोग ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन लगायत चार ऐनमा आवश्यक संशोधन गर्नुपर्ने निष्कर्षसहित दस्तावेज सरकारसमक्ष दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विदेशमा मतदानको व्यवस्था मिल्ने गरी संशोधनका बुँदाहरू समेटेर राय पठाइएको छ। “अब सरकारले अध्यादेशमार्फत ऐन संशोधन गर्ने बाटो खुलेको छ,” उनले बताए।
तर कानुनी तयारीसँगै व्यावहारिक मोडालिटी तय गर्ने काम भने सरकारकै हातमा छ। प्रवक्ता भट्टराईका अनुसार– विदेशी भूमिमा कसरी मतदान गराउने, कति लागत पर्छ, कहाँबाट सुरु गर्ने जस्ता विषयमा थप स्पष्टता आवश्यक छ।
गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमै केही चयनित देशबाट भए पनि विदेश मतदानको अभ्यास सुरु गर्ने लक्ष्यसहित काम अगाडि बढाएको जनाएको छ।




