spot_img

पुराना शक्तिलाई निर्वाचनबाट पराजित गर्न वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने भट्टराईको प्रस्ताव

spot_img
spot_img

काठमाडौँ,२० कातिक । पुराना राजनीतिक दल र नेतृत्वविरुद्ध वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र सहकार्यबारे छलफल प्रारम्भ भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा नयाँ तथा वैकल्पिक धारका नेताहरूबीच बिहीबार बिहान नयाँ बानेश्वरमा भेटवार्ता भएको हो।

छलफलमा नेसपा–नयाँ शक्ति, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियान नेपाल, विवेकशील साझा, उज्यालो नेपाल अभियानका प्रतिनिधिहरू सहभागी थिए।

छलफलमा सहभागी सुदन किराँतीका अनुसार, जेनजी आन्दोलनपछि पुनः सक्रिय बन्दै गएको पुराना राजनीतिक शक्तिलाई निर्वाचनमार्फत पराजित गर्ने लक्ष्यसहित वैकल्पिक शक्तिहरूबीच एकता आवश्यक रहेको भट्टराईले बैठकमा प्रस्ताव गरे।
किराँतीले भने, “जेनजी विद्रोहपछि पुराना भ्रष्ट शक्ति सुधारिने अपेक्षा थियो, तर उनीहरू अझै आक्रामक बन्दैछन्। त्यसैले वैकल्पिक शक्ति एक ठाउँमा उभिन जरूरी छ भन्ने निष्कर्ष बैठकमा प्रस्तुत भयो।”

भट्टराईले जनतामा बढ्दो राजनीतिक निराशा हटाउन वैकल्पिक शक्तिले साझा मोर्चा बनाएर आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा एजेन्डासहित एकजुट हुन सके मात्र देशमा देखिएको असन्तोष र निराशा नियन्त्रण गर्न सकिन्छ।

छलफलमा सहभागी नेताहरूले भट्टराईको प्रस्तावलाई सकारात्मक रूपमा लिएका छन्। बैठकले प्रारम्भिक सहमति बनाएर निकट भविष्यमा छलफल निरन्तरता दिने निर्णय गरेको किराँतीले बताए।

बैठकमा डा. बाबुराम भट्टराईसहित रास्वपाका कार्यवाहक उपसभापति डोलप्रसाद अर्याल, प्रगतिशील अभियानका जनार्दन शर्मा र सुदन किराँती, नेसपा–नयाँ शक्तिकी उपाध्यक्ष मानुषी भट्टराई, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा लगायत नेताहरू सहभागी थिए।

छलफलपछि नेसपा–नयाँ शक्तिले जेनजी आन्दोलनका प्रतिनिधिसँग पनि संवाद अघि बढाएको जनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय