काठमाडौं,२० कात्तिक । ए डिभिजन लिग स्थगनको विरोधमा खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन्। नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरू सोमबार सातदोबाटोस्थित एन्फा परिसरमा भेला भई विरोध प्रदर्शनमा उत्रिएका हुन्।
एन्फाले यस वर्ष ए डिभिजन लिग नगरी अर्को वर्षको पुसमा मात्र सुरु गर्ने निर्णय गरेपछि खेलाडीहरू आक्रोशित बनेका हुन्। संघका अनुसार, पटक–पटक आग्रह गर्दा पनि एन्फाले लिग सञ्चालनको मागलाई बेवास्ता गरेपछि खेलाडीहरू सडकमा आउन बाध्य भएका हुन्।
“खेल्न पाउनु हाम्रो अधिकार हो, तर एन्फाले बारम्बार लिग स्थगित गरेर खेलाडीको भविष्यसँग खेल्दै आएको छ,” प्रदर्शनमा सहभागी एक खेलाडीले भने।
एन्फाले यस वर्ष केवल राष्ट्रिय लिग आयोजना गर्ने र ए डिभिजन लिग अर्को वर्षको पुसमा सुरु गर्ने निर्णय गरिसकेको छ। तर खेलाडीहरू भने यस निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन्।





