काठमाडौँ,२० कातिक । २३ भदौको जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीहरुको बयान बिहीबार (आज)देखि लिन सुरु गरिएको छ।
उच्चस्तरीय जाँचबुझ आयोगका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको यस आयोगले फिल्डमा खटिएका इन्चार्ज प्रहरी कर्मचारीहरूको विवरण संकलन गरिसकेको छ। आयोगले अब प्रत्यक्ष घटनास्थलमा खटिएका प्रहरीहरूसँग विस्तृत बयान लिने तयारी गरेको जनाएको छ।
जाँचबुझको यो प्रक्रिया २३ भदौको आन्दोलनको घटनावलीलाई स्पष्ट पार्नका लागि अत्यावश्यक मानिएको छ। उक्त आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो।
अघिल्लो दिन मात्रै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको थियो।




