बारा,२० कातिक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबीच बारामा मतदाता नामावलीमा नाम दर्ता गराउने नागरिकको भीड बढ्दै गएको छ। राजनीतिक दलहरू तयारीमा सक्रिय छन् भने आम नागरिकहरू आफ्नो मताधिकार सुनिश्चित गर्न कार्यालयमा व्यस्त छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकृत नवीन चौधरीका अनुसार निर्वाचनसम्बन्धी अध्यादेश जारी भएयता, कार्तिक १९ गतेसम्म ३ हजार ८५० जना नयाँ मतदाता नामावलीमा थपिएका छन्। तीमध्ये २ हजार ४३७ पुरुष र १ हजार ४१३ महिला रहेका छन्।
चौधरीले बताएअनुसार, दैनिक २००–२५० जना सेवाग्राही नाम दर्ता, संशोधन वा अद्यावधिकका लागि कार्यालय पुग्ने गरेका छन्। यसरी नाम दर्ता प्रक्रिया कार्तिक मसान्तसम्म खुला रहनेछ। साथै, हालसम्म १७८ जनाले ठेगाना, थर वा नाममा त्रुटि सच्याएका छन्।
बारामा हालसम्म कुल मतदाता संख्या ४,४०,५१५ पुगेको छ। तीमध्ये १,९९,३४३ महिला, २,४१,१६१ पुरुष र ११ अन्य (तेस्रो लिङ्गी) रहेका छन्। निर्वाचन कार्यालयका सूचना अधिकारी मुकेशकुमार सिंहका अनुसार, दरबन्दी अभावका बावजुद सहायक कर्मचारीको सहयोगमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता र अद्यावधिकको काम नियमित रूपमा सञ्चालन भइरहेको छ।
स्थानीय तहका बासिन्दाहरू आगामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन्। युवा, वृद्धदेखि सबै उमेर समूहका नागरिकहरू उत्साहपूर्वक मतदाता नामावलीमा नाम समावेश गराउन कार्यालयमा आएका छन्। निर्वाचन कार्यालयले अझै नाम छुटेका मतदातालाई तोकिएको समयभित्र नाम दर्ता गर्न अनुरोध गर्दै सूचना अभियान पनि सञ्चालन गरिरहेको छ।




