काठमाडौँ,२० कातिक । अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) र अन्य करसम्बन्धी सेवा स्थानीय तहबाटै प्राप्त गर्न सकिने भएको छ।
आन्तरिक राजस्व विभागले विज्ञप्ति जारी गर्दै जनाए अनुसार, यसअघि करदाता सेवा कार्यालयमार्फत मात्र उपलब्ध रहेका प्यान कार्ड सेवा अब सम्बन्धित स्थानीय तहमार्फत प्रदान गरिने व्यवस्था मिलाइएको छ। करदाता सेवा कार्यालयहरू हाल खारेज भइसकेका छन्।
विभागका अनुसार, स्थानीय तहमा सेवा सुरु हुन केही समय लाग्ने अवस्थामा, ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट पनि उपलब्ध गराइनेछ।
त्यस्तै, कर भुक्तानी, कर चुक्ता प्रमाणपत्र लगायतका अन्य सेवा अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले जनाएको छ।
आन्तरिक राजस्व विभागले भनेको छ, “कार्यालयको सेवा प्रवाह करदाताको नजिक र प्रविधिमैत्री बनाउँदै लैजाने नीति अन्तर्गत यो निर्णय गरिएको हो।”




