बीरगन्ज,२० कातिक । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्लामा सुशासन र नागरिक सेवामा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।
तीन दिनअघि जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा भएर आएका दाहालले बिहीबार सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा भने, “म नागरिकको सेवाका लागि आएको हुँ। कुनै ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम मेरो कार्यकालमा नहुनेछ।”
उनले आफ्नो अनुभव मधेसका विभिन्न जिल्लामा भएको उल्लेख गर्दै सकारात्मक सोच र सहकार्यमार्फत समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले अवैध ओसार–पसार, चोरी–तस्करी र अपराध नियन्त्रणमा पनि गम्भीर भएर लाग्ने बताए।
प्रजिअ दाहालले नागरिकता र राष्ट्रिय परिचयपत्र लगायतका सेवामा अनावश्यक ढिलासुस्ती र सर्जिमिन मुचुल्का नगर्ने बताए। साथै, सरकारी कर्मचारीहरूले सेवाग्राहीसँग नम्रता र शिष्टाचार अपनाउनुपर्नेमा जोड दिए।
उनले भने, “कसैको दबाब वा प्रभावमा काम नगर्नेछु। प्रक्रियागत र कानूनी ढाँचामा गरिएको काममा ढिलासुस्ती नहुनेछ।”
साक्षात्कार कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पर्सा जिल्लाका विभिन्न सञ्चारकर्मी र सञ्चार संस्था प्रतिनिधिहरू उपस्थित थिए




