बीरगन्ज,२० कातिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन सुदृढीकरण र जनसंपर्क अभियानलाई तीव्रता दिन देशभर वडा, पालिका र जिल्ला स्तरमा जनभेला सञ्चालन गर्ने निर्णय गरेको छ।
पर्सा क्षेत्र नम्बर १ मा आज सम्पन्न बैठकले सो अभियान अन्तर्गत हुने जनभेला कार्यक्रमलाई सफल पार्ने निर्णय गरेको हो। बैठकमा स्थानीय नेतृत्व, जनप्रतिनिधि तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।
बैठकमा एमालेका शीर्ष नेताहरू पूर्व प्रतिनिधि सभा सदस्य प्रभु हजरा, नेता बसरुद्दिन अन्सारी, सुन्दर राउत कुर्मी लगायत उपस्थित थिए। उनीहरूले पर्साका सबै वडा र पालिकामा जनसंपर्क र संगठन विस्तारमा सक्रिय हुन कार्यकर्तालाई आह्वान गरेका छन्।
नेताहरूका अनुसार जनभेला कार्यक्रममार्फत जनताको मुद्दा, पार्टी नीति र आगामी निर्वाचनका रणनीति जनस्तरमा पुर्याउने लक्ष्य राखिएको छ। बैठकले स्थानीय तहमा पार्टी संरचना सुदृढीकरण, जनसंगठन सशक्तीकरण र नेतृत्व विकासका कार्यक्रम अघि बढाउने पनि निर्णय गरेको छ।




