चितवन, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक भोलि शुक्रबारदेखि चितवनको सौराहास्थित चित्रसारीमा सुरु हुँदैछ। बैठक २१ र २२ कात्तिकसम्म सञ्चालन हुनेछ र पार्टीको आगामी रणनीति तय गर्ने लक्ष्य राखिएको छ।
बैठकको उद्घाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गर्नेछन्। बैठकमा राजनीतिक प्रतिवेदन, आगामी निर्वाचनको वाचापत्रको मस्यौदा, सांगठनिक र उम्मेदवार चयन सम्बन्धी प्रतिवेदन पेस गरिनेछ। यसका लागि उपसभापति डा. स्वर्णिम बाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र सहमहामन्त्री विपिन आचार्यले सम्बद्ध प्रतिवेदनहरू पेश गर्ने तयारी गरेका छन्।
बैठकमा पार्टीका केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद् सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेश सचिवालय सदस्य, निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशस्थित संगठनका पदाधिकारी र पालिकाका सभापतिहरू गरी ५१२ प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूले प्रतिवेदनमा सुझाव राख्ने र त्यसपछि संशोधनसहित बैठक समाप्त हुने जनाइएको छ।
बैठकमा आगामी फागुनमा हुने महाधिवेशन, पार्टी संरचनाको पुनर्गठन, विगतको रणनीति, संगठनात्मक कमजोरी र वैकल्पिक राजनीतिक शक्ति निर्माणजस्ता विषयमा पनि छलफल हुनेछ। जेनजी आन्दोलनपछिका विवाद र पार्टीभित्र उत्पन्न मतभेदबारे धारणा राखिने र भावी कार्यदिशा तय गरिने जानकारी पार्टी प्रवक्ता मनिष झाले दिएका छन्।
खानपानको व्यवस्थापन पार्टीले गर्नेछ, तर आवासको व्यवस्था प्रतिनिधिले आफैं गर्नुपर्नेछ। दुई दिनको खाना र खाजाका लागि हरेक प्रतिनिधिबाट १ हजार ५०० रुपैयाँ शुल्क लिइनेछ। साधारण रुमको भाडा १ हजार, मध्यम रुम २ हजार र सुविधा सम्पन्न रुम ३ हजार तोकिएको छ। बैठकको व्यवस्थापनका लागि पूर्वसांसद हरि ढकालको नेतृत्वमा १७ सदस्यीय मूल समिति र सात उपसमितिहरू गठन गरिएको छ।



