जनकपुर,२१ कातिक । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले देशमा देखिएको राजनीतिक अस्थिरताको समाधान संसद् पुनर्स्थापनाबाट मात्र सम्भव हुने दाबी गरेका छन्।
धनुषा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले शान्ति, स्थायित्व र सुशासनको मार्ग संसद्को पुनः सक्रियताबाट खुल्ने जिकिर गरे। “एमाले सधैं लोकतान्त्रिक मूल्यको संरक्षण र जनस्वार्थमा केन्द्रित रहँदै आएको पार्टी हो,” महासेठको भनाइ थियो।
उनका अनुसार वर्तमान परिस्थितिमा जनमत र राजनीतिक व्यवस्थालाई सही दिशामा अघि बढाउन संविधानअनुरूप संसदलाई पुनः सुदृढ र कार्यान्वयन योग्य बनाउनु आवश्यक छ।
बैठक एमाले धनुषाका अध्यक्ष भोला यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री जुली कुमारी महतो, केन्द्रीय सदस्य हरिनारायण महतो, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायत जनवर्गीय संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।




