काठमाडौं,२१ कात्तिक । सामाजिक अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन बुझाएका छन्। सुनारको नेतृत्वमा दर्ता गरिन लागेको पार्टीको नाम ‘हाम्रो पार्टी नेपाल’ रहेको छ।
दलले चुनाव चिह्नका लागि गोलो घेराभित्र ‘राम्रो जनाउने लाइक (👍)’ चिह्न प्रस्ताव गरेको छ। निर्वाचन आयोगले हाल दर्ता निवेदन र दस्तावेजहरूको अध्ययन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
दल दर्ताका लागि केन्द्रीय समिति, विधान, नियमावली, घोषणापत्र, समर्थकहरूको विवरण सहित पाँच सय जना व्यक्तिहरूको नागरिकता प्रमाणपत्र र उनीहरूको स्वघोषणा आवश्यक हुन्छ। ती व्यक्तिहरू कुन जिल्लाका हुन् भन्ने विवरणका आधारमा उनीहरूले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गराउनुपर्छ।
खगेन्द्र सुनार समूहको दल दर्ता तयारीमा संलग्न रामबहादुर मिजारका अनुसार अहिले विभिन्न जिल्लामा सनाखतको काम भइरहेको छ। निर्वाचन आयोगका अनुसार कात्तिक ३० भित्र सम्पूर्ण प्रक्रिया पूरा गरी दल दर्ता प्रमाणपत्र लिनुपर्नेछ।




