जनकपुर,२१ कातिक । वर्षौँदेखि अधुरै रहेको मलङ्गवा खण्डको हुलाकी राजमार्गले स्थानीयवासीको दैनिक जीवन अस्तव्यस्त बनेको छ। सदरमुकामको मुख्य बजार क्षेत्र—टावरचोकदेखि झन्डाबजारसम्मको करिब ७ सय मिटर सडक कालोपत्रे नहुँदा धुलो, फोहोर र दुर्गन्धको समस्या झनै गम्भीर बन्दै गएको हो।
पूर्व–पश्चिम हुलाकी राजमार्गका अधिकांश भागमा काम सकिएको भए पनि मलङ्गवाको व्यस्त बजार क्षेत्र अझै बेस तहमै सीमित छ। व्यापारीहरू भन्छन्—धुलोका कारण सामान क्षति हुन्छ, ग्राहक घट्छ र बालबालिकादेखि वृद्धसम्म श्वासप्रश्वाससम्बन्धी रोग बढेको छ।
मलङ्गवा–३ का रमेश मण्डल भन्छन्, “सडकमा हिँड्नै गाह्रो छ, कहिले आन्दोलन गर्यौं, कहिले निवेदन, तर ठेकेदारले सुन्नेवाला छैन।”
लगातारको समस्यापछि स्थानीयवासीहरूले ‘मलङ्गवा नगर संरक्षण तथा सुधार समिति’ बनाएर दबाब शुरू गरेका थिए। बुधबार सडकमा अनिश्चितकालीन चक्काजाम पनि गरिएको थियो। आन्दोलनपछि ठेकेदारले केही निर्माण सामग्री ल्याएपछि चक्काजाम अस्थायी रूपमा रोकिएको छ।
सडक निर्माणको जिम्मा हिमडुङ एण्ड ठोकर र हिरा एण्ड नमिता जेभीले सन् २०१६ (२०७३ असार) भित्र काम सक्ने सर्तमा लिएको थियो तर सात पटक म्याद थपिँदासमेत काम पूरा हुन सकेको छैन।
हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामका इन्जिनियर रञ्जित रायका अनुसार जेन–जी आन्दोलनका कारण आठौँ पटक म्याद थप प्रक्रिया ढिलो भएको हो। “काम सुस्त गति मै छ, तर स्थानीय दबाबपछि ठेकेदारले अब काम अगाडि बढाउने लिखित प्रतिबद्धता दिएको छ,” उनले बताए।
तर स्थानीयवासी भन्छन्—अब आश्वासन होइन, काम चाहिन्छ।उनहरूले चेतावनी दिएका छन्, “यदि काम सुरु नभए फेरि सडक बन्द गरेर कडा आन्दोलन गर्छौं।”
सडक अधुरो रहँदा केवल विकास मात्रै होइन, जनस्वास्थ्यमा पनि गम्भीर प्रभाव परेको स्वास्थ्यकर्मीहरूको निष्कर्ष छ। धुलोका कारण श्वासप्रश्वासका रोग तीव्र रूपमा बढ्दै गइरहेको उनीहरूको भनाइ छ।




