spot_img

दल दर्ताका लागि ‘नेपाली कम्युनिस्ट पार्टी’ निर्वाचन आयोग जाने तयारीमा

spot_img
spot_img

काठमाडौँ,२१ कातिक । विभिन्न कम्युनिस्ट घटकहरू मिलेर गठन गरिएको ‘नेपाली कम्युनिस्ट पार्टी’ अब निर्वाचन आयोगमा दल दर्ता गर्न तयारीमा जुटेको छ। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहित १० भन्दा बढी कम्युनिस्ट समूहहरूको एकतापछि निर्माण भएको नयाँ पार्टीले आवश्यक कागजात तयारीको अन्तिम चरणमा रहेको जनाएको छ।

तत्कालीन एकीकृत समाजवादीका उपमहासचिव तथा हाल नवगठित पार्टीका नेता रामकुमार भट्टराईका अनुसार दल दर्ताका लागि चाहिने सबै सामग्रीहरू तयार पारिँदैछ। नेताहरूको हस्ताक्षर प्रक्रिया सम्पन्न गर्न आज (शुक्रबार) पार्टी कार्यालयमा बोलाइएको छ।

भट्टराईले भने, “यदि सबै कागजात आजै तयार भयो भने आजै आयोगमा दल दर्ताका लागि निवेदन दिनेछौँ, नभए आइतबार जाने तयारी छ।”निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन इच्छुक नयाँ राजनीतिक दलहरूले कात्तिक ३० भित्र दर्ता सकाइसक्न निर्देशन दिएकाले पार्टीले प्रक्रिया तीव्र बनाएको बताइएको छ।

यसअघि कात्तिक १९ गतेै ‘नेपाली कम्युनिस्ट पार्टी’ गठनको घोषणा गरिएका नेताहरूले आयोगलाई नाम दर्ता गर्न लागेको सामान्य जानकारी मात्र गराएका थिए।

एकतामा सहभागी दलहरूको केन्द्रीय सदस्य संख्या जोड्दा नयाँ पार्टीको केन्द्रीय कमिटी १५ सयभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ। नवगठित पार्टीमा संयोजक र सह–संयोजक रहने, चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भइसके पनि—केन्द्रीय समिति कति सदस्यीय हुने भन्ने टुंगो भने आयोगमा बुझाउने कागजातसँगै अन्तिम रूपमा तय हुनेछ।

नेता बेदुराम भुसालका अनुसार, “एकतामा धेरै दल सामेल भएका छन्। तिनीहरूको केन्द्रीय सदस्य संख्या समेटेर नयाँ संरचना तयार गर्न समय लागिरहेको छ। सम्भव भएसम्म चाँडै आयोग जाने उद्देश्य छ।”
उनका अनुसार अन्य केही दल वा समूह पनि थपिने सम्भावना खुला नै छ।

नेताहरूका अनुसार, दल दर्ता निवेदन दिएपछि केन्द्रीय समिति बैठक बोलाइने छ। सो बैठकबाट सचिवालय गठन, विधान निर्माण तथा अन्य संरचना निर्माणका लागि कार्यदल बनाउने तयारी गरिएको छ।

कात्तिक १९ गते घोषणा गरिएको एकीकृत पार्टीमा—नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा (समाजवादी), नेकपाको चिरन पुन समूह, नेकपा (समाजवादी माओवादी), नेकपा साम्यवादी, देशभक्त मोर्चासहितका पार्टी तथा राजनीतिक समूहहरू समावेश भएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय