काठमाडौँ,२१ कातिक । ज्यान सम्बन्धी अपराध (कर्तव्यज्यान) मुद्दामा इन्टरपोलको रेड नोटिसमा परेका फरार आरोपी रेशम बहादुर राना संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेर नेपाल ल्याइएका छन्। इन्टरपोल अबु–धाबीको समन्वयमा नियन्त्रणमा लिइएका रानालाई अाज नेपाल पठाइएकाे हो।
पर्वत जिल्लामा भएको कर्तव्यज्यान घटनामा संलग्न ठहर भएका रानालाई जिल्ला अदालत पर्वतले २०६९ माघ १५ गते जन्मकैद (२० वर्ष) सजाय सुनाएको थियो। फैसलापछि फरार रहेका उनलाई खोजी तथा पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २०८१ जेठ १९ गते रेड नोटिस जारी गरेको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाका अनुसार रानालाई नेपाल फर्काएर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पर्वतबाट खटिएको प्रहरी टोलीलाई बुझाइएको छ।




