विराटनगर, २१ कात्तिक । विराटनगरस्थित बाल सुधार गृहबाट पुनः नौ जना बिझ्याइँकर्ता फरार भएका छन्। बिहीबार अपराह्न ड्युटीमा रहेका प्रहरीले कुटपिट गरेर उनीहरू सुधार गृहबाट भागेका हुन्।
फरारमध्ये एक जना साँझमा आफैं फर्किएका थिए भने अर्को एक जनालाई स्थानीयवासीले समातेपछि सुधार गृहमा बुझाइयो। बाँकी सात जना अझै फरार अवस्थामै रहेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेका अनुसार कार्यालय समय सकिएर कर्मचारी घर फर्कने बेला पर्खेर बिझ्याइँकर्ताले समूह बनाएर प्रहरीमाथि आक्रमण गरेका हुन्। घटनामा तीन जना प्रहरी घाइते भएका छन्।
एसपी कटवालका अनुसार भागेकाहरूको उमेर १८ वर्षभन्दा माथि छ। बाल सुधार गृहमा २७–२८ वर्ष उमेर समूहकासमेत बिझ्याइँकर्तालाई राख्नुपर्ने भएकाले सुरक्षा चुनौती झनै बढ्ने गरेको उनले बताए।
१५० जनाको क्षमता रहेको विराटनगर बाल सुधार गृहमा हाल २६० जना राखिएपछि व्यवस्थापन र सुरक्षा दुवै पक्षमा समस्या बढेको छ। जेनजी आन्दोलनका क्रममा सुधार गृहबाट भागेका करिब १० जना अझै पनि फिर्ता आएका छैनन्।
यसअघि पनि सुधार गृहबाट भाग्ने घटना दोहोरिँदै आएको थियो। पहिले भवनबाट फालेर भाग्ने गरे पनि हाल प्रहरीले नै आक्रमण गर्ने प्रवृत्ति देखा पर्न थालेको छ, जसले सुरक्षा व्यवस्थापनमा नयाँ रणनीति अपनाउनुपर्ने संकेत गर्छ।




