काठमाडौं,२१ कातिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने भन्दै पुनः स्पष्ट अडान व्यक्त गरेका छन्।शुक्रबार काठमाडौंमा जिल्ला सभापति तथा पूर्व जिल्ला सभापतिसँग भएको अनौपचारिक भेट–घाटमा डा. कोइरालाले पार्टीलाई आगामी आम निर्वाचनभन्दा अघि ताजा नेतृत्व आवश्यक पर्ने बताए।
उनका अनुसार कांग्रेसले मंसिर मसान्तभित्र महाधिवेशन गर्नैपर्छ, अन्यथा कुनै पनि हालतमा पुस मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।“महाधिवेशन गरेरै चुनावमा जानु विवेकसंगत हुन्छ। समय र परिस्थिति नमिले पनि पुस मसान्तभन्दा पर धकेल्न मिल्दैन,” कोइरालाको भनाइ थियो।
“एकता, मेलमिलाप र जिम्मेवार नेतृत्व आवश्यक”महाधिवेशनका एजेन्डासँगै उनले पार्टीभित्र एकता, संयमता र मेलमिलाप आवश्यक रहेको दोहोर्याए। उनले गुट–उपगुट र फुटको राजनीति अन्त्य गरी निष्पक्ष भावनाले अघि बढ्नुपर्नेमा जोर दिए।
“कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ mentality राख्नु हुँदैन। म एकता, मेलमिलाप र सहकार्य चाहन्छु,” उनले भने।
देशभर निष्ठावान् र सक्रिय कार्यकर्ताको समर्पणका कारण कांग्रेस आजसम्म टिकेको उल्लेख गर्दै उनले कार्यकर्ताको भूमिकाको प्रशंसा गरे। उनका अनुसार कांग्रेसले अब त्यसैअनुसार जिम्मेवार र राष्ट्र–जनताकै हितमा निर्णय लिनुपर्ने समय आएको छ।
“देशभरका लाखौँ शुभेच्छुक कांग्रेसको निर्णय प्रतीक्षा गरिरहेका छन्। यसैले अब जिम्मेवार र दूरदर्शी निर्णय लिनैपर्छ,” कोइरालाले भने।
महाधिवेशनको तालिका बनाउँदा निर्वाचन आयोगले तय गरेको राष्ट्रिय चुनाव म्यापसँग नबाझिने गरी मिलाउनुपर्ने उनको सुझाव छ। उनले निष्कर्ष सुनाए— “नयाँ र ताजा नेतृत्वसहित चुनावमा जान सके कांग्रेस थप मजबुत ढंगले जनतामाझ पुग्न सक्छ।”



