spot_img

आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुन्थ्यो : रामकुमारी झाँक्री

spot_img
spot_img

काठमाडौं,२१ कातिक । चार वर्षपछि नेकपा (एकीकृत समाजवादी) छाडेर पुनः एमालेतर्फ फर्किन तयारीमा रहेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई खुलेर भावनात्मक सन्देश दिएकी छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले पछिल्लो राजनीतिक कदमका कारण अब सहयात्रा सम्भव नदेखिएको उल्लेख गरिन्। झाँक्रीले अध्यक्ष नेपालप्रति व्यक्तिगत सम्मान प्रकट गरे पनि हालका गतिविधिले उनको राजनीतिक यात्रालाई पुनः विवादमा उभ्याइदिएको टिप्पणी गरिन्।

“आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुन्थ्यो, कमरेडहरू। अब कारबाहीको के अर्थ छ? लोकले के भन्ला भन्ने पनि सोच्नु भएन?” सन्देशमा झाँक्रीले लेखेकी छन्।

उनले माधव नेपालले करिब दुई दशक पार्टी नेतृत्व गरेको र त्यसबाहेक पनि सत्ता–संगठनको केन्द्रीय भूमिकामा रहँदै आएको योगदान स्मरण गरिन्। तर, हालको विलय निर्णयले पुराना विवाद र आलोचना पुनः सतहमा ल्याएको बताइन्।

झाँक्रीको भनाइमा, “यो अन्तिम घटनाले तपाईंको राजनीतिक इतिहास फेरि बल्झाइदियो, बिर्सिएका धेरै प्रसंगहरू फेरि स्मृतिमा फर्किए।”

सन्देशमा उनले विदाइका भावनात्मक शब्दहरू पनि जोडिन्—“जीवनमा के लानु छ, कमरेड? समाज र देशका लागि जीवन अर्पण गर्ने मान्छेले लानु त सम्झना मात्रै हो— मिठो वा तीतो। चिया पसलमा दुई जनाले गर्ने गफ मात्रै। आफ्नै मलामी त कसले देख्छ र!”

बुधबार आफू र महासचिव घनश्याम भुसालमाथि गरिएको कारबाहीबारे पनि उनले व्यंग्यात्मक शैलीमा ‘धन्यवाद’ व्यक्त गरिन्।

अन्त्यमा झाँक्रीले माधव नेपालको स्वास्थ्य, परिवारको सुख–शान्तिका लागि शुभकामना दिँदै लेखिन्—“तपाईं जहाँ रहे पनि हाम्रो अभिभावककै रूपमा रहनेछु, त्यसैगरी सम्झिरहनेछु।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय