जनकपुर,२१ कात्तिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले भाषाको संरक्षण र विकासका लागि तिनलाई जनजीविकासँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल इंगलिश ल्यांग्वेज टिचर्स एसोसिएसन (नेल्टा)ले आयोजना गरेको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोनलले संसारका थुप्रै भाषा जनजीविकासँग नजोडिएका कारण विलुप्त हुन पुगेको उल्लेख गरे । उनले भने, ‘हाम्रा परम्परागत भाषा, संस्कृति र सभ्यताका रूपहरु जीविकासँग जोडेमात्र दिगो बन्न सक्छन् ।’
मुख्यमन्त्री सोनलले अङ्ग्रेजी भाषा विश्वभर प्रभावकारी माध्यम बनिसकेको स्वीकार गर्दै विद्यार्थीहरूले इंगलिशसँगै आफ्ना मौलिक भाषा र परम्पराको ज्ञान पनि राख्नुपर्नेमा जोड दिए । सोनलले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी विषयको अध्यापनको अवस्था सन्तोषजनक नरहेकोप्रति चिन्ता व्यक्त गरे ।




