चितवन, २१ कात्तिक । रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले पार्टीभित्र उत्पन्न भिन्नता र दूरीबारे प्रश्न उठाउँदै भने, पुराना दलहरूमाथि प्रश्न उठिरहेको जस्तो खतरा रास्वपाभित्र पनि देखिएको हुनसक्छ।
शुक्रबार चितवनको सौराहामा सम्पन्न केन्द्रीय विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अर्यालले साना विवाद वा असहमति बढाएर पार्टीभित्र दूरी पैदा गर्ने प्रवृत्तिबाट बच्न आवश्यक रहेको बताए।
उनी भन्छन्, “पुराना दलहरूको औचित्यमाथि प्रश्न उठाइँदैछ, तर कतै हामी पनि आफ्नै बीचमा टिललाई पहाड बनाएर दूरी बढाइरहेका त छैनौं? रास्वपालाई कमजोर बनाएर हामी कहिल्यै बलियो बन्न सक्दैनौँ। मझेरी खनेर आँगन पुर्ने काम कहिल्यै गर्नु हुँदैन।”
अर्यालले दलभित्र को कति बलियो छ भन्ने परीक्षण महाधिवेशनबाटै हुने रास्वपाको ४० महिनाको छोटो इतिहासलाई स्मरण गराउँदै भने, “यस समयमा अप्रत्याशित अपेक्षा राख्नु ठीक होइन। टिममा काम गर्ने संस्कार पनि नदेखिएको जस्तो लाग्छ। हामीमा टिम संस्कार छैन कि जस्तो लाग्छ।”
उनले पार्टीको विकास र विस्तारमा उत्पन्न चुनौती र सम्भावित असहमति नियन्त्रण गर्न सबै सदस्यलाई एकजुट रहन सुझाव दिए।




