काठमाडौँ,२१ कात्तिक । अन्तरिम सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले राजनीतिक दलहरूलाई कहिल्यै पनि अवमूल्यन नगरेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई अवमूल्यन गरेको विश्लेषण भइरहेका बेला उहाँले यस्तो दाबी गरेका हुन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले असन्तुष्ट पक्षहरूसँगको पटक पटक छलफल गर्नुपर्ने बाध्यताले राजनीतिक दलहरूसँगको सम्पर्क केही ढिला हुन गएको पनि स्पष्ट पारे ।
सरकारले राजनीतिक दलहरूलाई अवमूल्यन गरेर अघि बढ्दा असहज परिस्थिति आउँछ भनेर अनुभूति गरिरहेको उनको भनाई थियो । मन्त्री सिन्हाले वर्तमान सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्ने एक मात्रै लक्ष्य लिए पनि असन्तुष्ट पक्षको सुनुवाइ गर्नुपर्ने, सरकारको दैनिक काम पनि गर्नुपर्ने भएकाले निर्वाचनको तयारीको कामले तीव्रता नपाएजस्तो देखिएको पनि तर्क गरे ।
उनले सुरुका दिनमा सरकारले जेनजी समूहहरूसँगको छलफलमा धेरै समय बिताउनुपरेको पनि उल्लेख गरे । मन्त्री सिन्हाले भने, ‘हामी संसदीय अभ्यास अलिकति ब्रेक भएको बेलामा यसको एउटा पुल निर्माण गरेर पुन जनप्रतिनिधिहरूलाई हस्तान्तरण गर्नको निमित्त एक मात्र लक्ष्य लिएर हिँडेका छौँ । तर चुनाव मात्रै लक्ष्य रहँदैन रहेछ । चुनावको तयारीको क्रममा गर्नुपर्ने विभिन्न कामको साथसाथै असन्तुष्ट कतिपय पक्षको कुरा सुन्नुपर्ने कारणले गर्दा र सरकारको दैनिकी समेत सञ्चालन गर्नुपर्ने कारणले गर्दा हामीहरू अलिकति ढिलो भएको हो । हामीहरूले दलहरूसँग सम्पर्क गर्न केही ढिला भएकै थियो ।’
उनले भने, ‘जेनजीका जुन समूहहरू हुनुहुन्छ । उहाँहरूसँगको पटक पटकको छलफलमा धेरै समय गएको पनि थियो । र, यो सरकारले कहिल्यै पनि दलहरूलाई अवमूल्यन गरेको छैन भन्ने कुरा यहाँहरूलाई अनुरोध गर्न चाहन्छु । हामी नेपाली नागरिकहरू कति सुर छौँ भन्ने कुरा कहाँबाट देखियो भने त्यत्रो घटना भएको तेस्रो दिनदेखि बाटोमा निस्केर सौहार्दपूर्ण वातावरण निर्माण गर्न जनतानै लागि रहनुभएको थियो । जुत्ता, चप्पल, लुगा केही नभएका, पकाउन भाँडा नभएका, पकाउने सामान नभएका हाम्रा सुरक्षाकर्मीहरूलाई जनताले नै यति सहयोग गर्नु भयो कि त्यसका निम्ति आभार व्यक्त गर्ने मसँग शब्द नै छैन ।’
मन्त्री सिन्हाले मुलुकको सुरक्षा अवस्थालाई सहज बनाउन सर्वसाधारण जनताले प्रहरीलाई गरेको सहयोगको समेत खुलेर प्रशंसा गरे। उनले सुरक्षा व्यवस्थालाई सहज बनाउने कठिन कार्यमा सरकारलाई सर्वसाधारण जनताले ठुलो साथ दिएको समेत बताए ।



