बीरगन्ज,२१ कात्तिक । भर्खरै बारामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रले पूर्ण रूपमा कानुनको अधीनमा रहँदै जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बारामा बिहीबार आयोजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रममा उनले सुशासन, शान्ति–सुरक्षा र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउने सङ्केत दिएका छन्। बुधबार मात्रै कार्यभार सम्हालेका सिडिओ मिश्रले आफ्नो पहिलो औपचारिक सम्बोधनमा भने, “म कुनै दल, व्यक्ति वा समूहको दबाबमा काम गर्दिनँ। कानुन मेरो मार्गदर्शक हो, जनता मेरो प्राथमिकता हुन्।”
उनले बारामा शान्ति–सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनेमा विशेष जोड दिंदै अपराध नियन्त्रणका लागि सूचना सङ्कलन, गस्ती वृद्धि र समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउने योजना अघि सार्नुभयो।
सुशासन प्रवर्धन र सभ्य समाज निर्माण आफ्नो कार्यकालको मुख्य लक्ष्य रहेको उनले बताए। “सुशासन केवल नारा होइन, यो दैनिक कामको आधार हो। जिल्ला प्रशासन कार्यालयबाटै सुधारको थालनी गरिनेछ, हामीले आफैँलाई सुधारेर अरूलाई उदाहरण प्रस्तुत गर्नेछौँ,” उनले भने।
सिडिओ मिश्रले घुस, रिसवत वा व्यक्तिगत फाइदाका लागि हुने अनियमितता प्रतिकूल चेतावनी दिँदै, “कोही घुस माग्छन्, लिन्छन् वा दिन्छन् भने तुरुन्त उजुरी गर्नुहोस्। कानुनको कठोर दायरामा ल्याइनेछ,” बताए।
उनले स्थानीय तह, सुरक्षा निकाय, सरोकारवाला संघ–संस्था र नागरिक समाजसँग समन्वय गरी जिल्लाको समग्र विकास र सुशासनमा हातेमालो गर्दै काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर हेडक्वार्टरका गणपति तथा उपरीक्षक खुमबहादुर केसी, राष्ट्रिय अनुसन्धान जिल्ला बाराका उप निर्देशक सरोज निरौलालगायत सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित थिए।




