बीरगन्ज,२१ कातिक । बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै मधेस प्रदेशसँग जोडिएका नेपाल–भारत सीमाका नाका चार दिनका लागि बन्द रहने भएका छन्।
धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, सप्तरी, सिरहा, रसुवा लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको सूचनाअनुसार, भोली शनिवार २२ कार्तिकदेखि २५ कार्तिकसम्म बेलुका ६ बजेदेखि बेलुका ६ बजेसम्म सीमा नाका पूर्ण रूपमा बन्द रहनेछ।
सूचनामा भनिएको छ कि यस अवधिमा इमरजेन्सी बाहेक कुनै पनि व्यक्ति वा सवारी साधनले आवागमन गर्न पाउने छैन। औषधि उपचार, एम्बुलेन्स सेवा र अत्यावश्यक सामग्री ढुवानी भने अवरोध बिना सञ्चालन हुने व्यवस्था गरिएको छ।
सामान्य आवागमन र व्यापारिक गतिविधि बुधबार बेलुका ६ बजेदेखि मात्र पुनः सुचारु हुने जनाइएको छ। प्रशासनले सुरक्षा संवेदनशीलता कायम राख्दै निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन यो कदम उठाएको हो।




