काठमाडौँ,२१ कातिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छाडेका सम्पूर्ण नेता एवं कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन्।
ललितपुरको इमाडोलमा बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले पनि पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई स्वागत गर्ने निर्णय गरेको छ। अध्यक्ष यादवले भने, “पार्टी स्थापनाकालदेखि कुनै पनि कारणले असन्तुष्ट भएर पार्टी छाडेका सबैलाई जसपा नेपालमा स्वागत छ। आफ्नो पुरानै घरमा फर्किन कसैले दुःख, डर वा सङ्कोच महसुस गर्न आवश्यक छैन।”
उनीहरूले सम्पर्कमा आए पार्टीमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार जिम्मेवारी र स्थान प्रदान गरिने पनि अध्यक्ष यादवले बताए। मुलुकमा विकसित राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै पार्टीलाई थप सङ्गठित, समावेशी र सशक्त बनाउने उद्देश्यका साथ यो अभियान प्राथमिकताका साथ सञ्चालन गरिने जनाइएको छ।




