काठमाडौं,२१ कातिक । जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठन भएको विशेष जाँचबुझ आयोगले २३ र २४ भदौका घटनासँग सम्बन्धित व्यक्तिहरूको बयान लिन सुरु गरेको छ। आयोगले प्रहरी जवानदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकसम्म बयान लिने तयारी गरेको छ।
विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले आइतबारदेखि काठमाडौं केन्द्रित अनुसन्धान सुरु गरेको हो। यसअघि आयोगले देशभरका क्षति पुगेका स्थानहरूमा भ्रमण गरी घटनाका विवरण संकलन गरेको थियो।
आयोगका अध्यक्ष कार्कीका अनुसार, पहिलो चरणमा फिल्डमा खटिएका प्रहरी जवान र अधिकृतसँग २३ र २४ भदौमा भएको प्रदर्शन, गोली चल्ने अवस्था, तोडफोड र अन्य घटनाबारे बयान लिइँदैछ। प्रहरीबाट सुरु हुने बयान क्रमशः कमाण्डर, आईजीपी, सुरक्षा परिषद्का सदस्य, प्रमुख जिल्ला अधिकारी, गृह सचिव, गृहमन्त्री र प्रधानमन्त्रीसम्म पुग्नेछ।
पहिलो बयान नख्खु कारागारका प्रमुख सत्यराज जोशी र रास्वपाका सभापति रवि लामिछानेबाट लिइएको छ। जोशीले कारागार तोडफोड, कैदीबन्दी रिहा हुने अवस्था र भागेका कैदीहरूको व्यवस्थाबारे जानकारी दिएका छन्।
आयोगले अनुसन्धानमा निरन्तर असहयोग गरेको आरोपमा तत्कालीन प्रहरी प्रमुख आईजीपीमाथि पाँच सय रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ। अध्यक्ष कार्कीले भने, “कानुन सबैले मान्नुपर्छ, पूर्व प्रधानमन्त्रीले पनि।”
आयोगले करिब १५ दिनभित्र तत्कालीन गृहमन्त्रीको बयान लिने तयारी गरेको छ। तर प्रधानमन्त्री ओली र लेखकको बयान कहिले सुरु हुनेछ भन्ने मिति अहिलेसम्म निश्चित भएको छैन।




