काठमाडौँ,२२ कातिक । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ। काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा गएराति २:५८ बजे उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले पुष्टि गरेका छन्।
आलम लामो समयदेखि मुटु, मृगौला र स्नायु सम्बन्धी समस्याबाट पीडित रहेका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि केही साताअघि उनलाई भारतको दिल्लीस्थित एम्स अस्पताल लगिएको थियो। चिकित्सकको सिफारिसपछि घरमै सेवा–सुसारमा राखिएको भए पनि अवस्था फेरि बिग्रिएपछि केएमसीमा भर्ना गरिएकाले त्यही उपचारकै क्रममा उनको निधन भएको हो।
पार्थिव शरीर अन्त्येष्टिका लागि उनको गृहजिल्ला रौतहटको राजपुर लगिएको छ।
रौतहटमा मुस्लिम समुदायको प्रभावशाली नेताका रूपमा परिचित आलमले २०५६ र २०६४ को प्रतिनिधिसभा निर्वाचन नेपाली कांग्रेसबाट जितेका थिए। उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिन्थे र श्रम तथा रोजगार मन्त्रीको पदमा समेत रहे। कांग्रेसभित्र मधेसी र मुस्लिम समुदायको संगठित नेतृत्व निर्माणमा उनको भूमिका उल्लेख्य मानिन्छ।
आलम २०७६ सालमा २०६४ साल निर्वाचनपूर्व रौतहटको राजपुरमा भएको बम विस्फोट तथा त्यसपछि घाइतेहरूलाई ईँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका थिए। जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको सजाय सुनाए पनि उच्च अदालतले सो फैसला उल्ट्याउँदै सफाइ दिएको थियो। मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।
नक्खु कारागारमा रहँदा नै उनको स्वास्थ्य अवस्था क्रमशः कमजोर हुँदै गएको थियो। उनी विभिन्न समय अन्नपूर्ण न्यूरो, वीर अस्पताल र केएमसीमा उपचाररत रहँदै आएका थिए।
उनको निधनप्रति नेपाली कांग्रेस, स्थानीय राजनीतिक नेतृत्व, मुस्लिम समुदाय तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गरेका छन्।




