जनकपुर,२२ कातिक । भारतको बिहार राज्यमा हुने विधानसभा चुनावको दोस्रो चरणको मतदानका कारण जनकपुर–जयनगर रेल सेवा मंगलबारसम्म बन्द गरिएको छ। शनिबार साँझ ६ बजेदेखि लागू भएको रेल अवरुद्धता मंगलबार साँझसम्म रहने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।
बिहारमा मंगलबार मतदान हुने भएकाले नेपाल–भारतसँग जोडिएका सिमानाका समेत अस्थायी रूपमा बन्द गरिएको हो। सिमानाका बन्द रहेकाले रेल सेवा पनि स्थगित गरिएको कम्पनीले स्पष्ट गरेको छ।
धनुषा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म मानवीय तथा अत्यावश्यक सेवाबाहेक नेपाल–भारत सीमामा आवतजावत पूर्ण रूपमा रोकिने जनाएको छ। मधेश प्रदेशसँग जोडिएका सबै भन्सार नाका तथा खुला सीमाक्षेत्रमा अस्थायी आवगमन निलम्बन हुनेछ।
रेल सेवा सिमाना पुनः खुलेपछि नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।




