जनकपुर,२२ कातिक । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्नेछ, जहाँ उनले नेपालको संविधानको धारा १६८ (९) बमोजिम विश्वासको मत प्रस्तुत गर्नेछन्।
विश्वासको मतअघि सोनल नेतृत्वको सरकारले नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट नयाँ समर्थन पाएको छ। शुक्रबार साँझ भएको भेटमा दुवै दलले सरकारलाई मत दिने प्रतिबद्धता जनाएका हुन्।
मुख्यमन्त्रीका स्वकीय सचिव रमेश सर्राफका अनुसार, नयाँ समर्थनसँगै सरकारका लागि प्रदेशसभामा संख्या र वातावरण दुवै सहज बनेका छन्। मन्त्रिपरिषद् विस्तार विश्वासको मतपछि सोनलले विश्वासको मत प्राप्त भएपछि मात्र मन्त्रालय बाँडफाँड तथा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। हालसम्म उनले पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए।
पहिले जनमत पार्टीबाट दुई सांसद छुट्टिएर जनस्वराज पार्टीतर्फ लागेपछि र जसपाका एक सांसद निलम्बित भएपछि सोनलको समर्थन संख्या घटेको थियो। तर नयाँ दुई दलको समर्थनपछि उनको बहुमत फेरि स्थिर बनेको छ।
मधेस प्रदेशसभामा कुल सदस्य १०४ छन्। बहुमतका लागि ५३ मत आवश्यक हुन्छ। सोनललाई अहिले ५५ मत प्राप्त हुने निश्चित देखिन्छ।
सोनललाई समर्थन गर्ने दल र सांसद संख्या:जसपा नेपाल १८,जनमत पार्टी ११,माओवादी केन्द्र ९,लोसपा ८,नेकपा (एकीकृत समाजवादी) ७,नागरिक उन्मुक्ति पार्टी १,नेपाल संघीय समाजवादी पार्टी १ रहेकाे छ भने सबैभन्दा ठूलो दल एमाले (२३) र दोस्रो ठूलो दल नेपाली कांग्रेस (२२) भने प्रतिपक्षमा रहनेछन्।




