काठमाडौं,२२ कातिक । काठमाडौं प्रहरीले नक्कली नागरिकतासहित पेस्तोल देखाउने भिडियो बनाएका तेन्जिन दावा लामालाई पक्राउ गरेको छ। उनी भदौ २४ गतेको जेन–जी आन्दोलनमा पेस्तोल देखाएर विवादित गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धानमा थिए।
पक्राउ परेका लामामाथि तीनवटा मुद्दा चलिरहेको छ—कीर्ते र लिखतसम्बन्धी, लागूऔषधसम्बन्धी (गाँजा फेला परेसँगै) र नागरिकता प्रमाणपत्रको वैधता। उनका कोठाबाट नक्कली पेस्तोल, गाँजा र वाकिटकी रेडियो सेट बरामद गरिएको छ। साथै, उक्त रेडियो सेटका लागि उनले कुनै लाइसेन्स लिएको थिएन।
अनुसन्धानमा खुलेको छ कि तेन्जिनले दुर्गा प्रसाईं र नवराज सुवेदीसँग मिलेर तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा समेत सक्रिय भूमिका खेलेका थिए। उनी “टीओबी” नामक बाइकर्स समूहमा आबद्ध छन्, जसका करिब ५० सदस्य आन्दोलनमा सहभागी हुने र स–साना खर्चका लागि समूहबाट रकम पाइरहेका थिए।
प्रहरीका अनुसार तेन्जिनले नक्कली नागरिकता प्रमाणपत्रको प्रयोग गरेको देखिएको छ। उनको जन्म र आमाबुबासम्बन्धी विवरण प्रमाणित नभएको छ। प्रहरीले समूहको गतिविधि तिब्बती एजेन्डासँग प्रत्यक्ष सम्बन्ध नभए पनि त्यसबाट प्रभावित भएको निष्कर्ष निकालेको छ।
तेन्जिन बौद्ध धर्मावलम्बी हुन् र डेरा बसेका छन्। उनी ट्याटू आर्टिस्ट र गायकसमेत हुन्। थप अनुसन्धान जारी छ।



