spot_img

जीतपुरसिमराले ठेकदारविरुद्ध कारबाही सुरु, सात दिनभित्र काम सुरु गर्न चेतावनी

spot_img
spot_img

बारा,२२ कातिक । परवानीपुर, प्रसौनी हुँदै कलैया र बीरगन्ज महानगर जोड्ने ‘बलुवा–बेहरा’ सडकखण्ड र स्थानीय विद्यालय भवन निर्माण कार्य ठेकदार कम्पनीहरूले अलपत्र पारेको अवस्थामा जीतपुरसिमरा उपमहानगरले कारबाही प्रक्रिया सुरु गरेको छ।

धिरज निर्माण सेवा रौतहटले गत वर्ष १ करोड ५० लाख रुपैयाँ लागतमा दुई वटा कल्भर्टसहित सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो। तर, निर्धारित समय कात्तिक मसान्तसम्म पनि काम सुरु भएको छैन। स्थानीयवासी भन्छन्, “पानी परेपछि घर–खेत डुब्ने समस्या छ, र कच्ची सडकमा आवतजावत जोखिमपूर्ण छ।”

ठेकदार दामोदर प्रसाद यादवले भने ढिलाइको कारण स्थानीय जनप्रतिनिधि र साइट क्लियर नहुनु रहेको दाबी गरेका छन्।

समान रूपमा, वडा नं. ७ मा चार कोठे विद्यालय भवन निर्माण कार्य पनि एक वर्षदेखि अलपत्र छ। २०८१ चैतमा सम्पन्न गर्नुपर्ने योजना अहिलेसम्म सुरु नभएपछि १,४०० विद्यार्थी बिहान–बेलुकी दुई सिफ्टमा पढ्न बाध्य छन्। विद्यालय प्रशासनले ठेकदारले अग्रिम १० प्रतिशत रकम लिएर योजना पेटी ठेकदारलाई बेचेको आरोप लगाएको छ।

उपमहानगरका पूर्वाधार विकास शाखा प्रमुख अभयकान्त झाले भने, “७ दिनभित्र काम सुरु नगरेको खण्डमा कम्पनीलाई कालोसूचीमा राख्ने, बैंक ग्यारेन्टी जफत गर्ने र सम्झौता रकम ब्याजसहित असुल गर्ने तयारीमा छौं।”

गत आर्थिक वर्षमा सम्पन्न ठेक्का सम्झौतामध्ये करिब ६० प्रतिशत मात्र पूरा भएको उपमहानगरले जनाएको छ। हाल एनके कन्सट्रक्सन पर्सा, डि एण्ड कन्सट्रक्सन बारा, धिरज निर्माण सेवा रौतहट, मकवानपुर कन्सट्रक्सन, जय शम्भु भोलानाथ कन्सट्रक्सन, जसौली निर्माण सेवा र बजरंग कन्सट्रक्सनलगायत कम्पनीहरूलाई कारबाहीको दायरामा ल्याइएको छ।

उपमहानगरले चेतावनी दिएको छ – “सात दिनभित्र काम सुरु नगरे ठेक्का रद्द गरी कानुनी कारबाही अघि बढाइनेछ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय