बीरगन्ज,२२ कातिक । नेपाली कांग्रेसका पूर्वमन्त्री र पर्साका पूर्वजिल्ला सभापति सुरेन्द्र प्रसाद चौधरीले पार्टीमा आगामी चार वर्षभित्र विशेष वा नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्।
पार्टीभित्र महाधिवेशन तयारी र नेतृत्वसम्बन्धी चर्चाबीच चौधरीले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, “अब राजनीतिक छलकपट गर्नेहरूको लागि ‘टाकोज’ छैनन्।”
उनको यो अभिव्यक्ति पार्टीभित्रको पछिल्ला गतिविधि र नेतृत्वप्रतिको असन्तुष्टिको संकेतका रूपमा व्याख्या गरिएको छ। पर्सा जिल्लाबाट लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय चौधरी पार्टीभित्र स्पष्ट विचार र तिखो आलोचनाका लागि परिचित नेता हुन्।
चौधरीले पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउन र निर्धारित समयावधिभित्र महाधिवेशन सम्पन्न गर्न जोड दिएका छन्।
हाल नेपाली कांग्रेसमा महाधिवेशनको मिति र तयारीबारे नेतृत्व तहमा छलफल चलिरहेको छ। पूर्वमन्त्री चौधरीको अभिव्यक्तिले पार्टीभित्र नेतृत्व–समीक्षा र संगठन सुदृढीकरणको बहसमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।




